काठमाडौं– प्रायः मानिसलाई जाडोयाम मन पर्छ। यद्यपि, जाडोयामको आगमनसंगै रोगहरुको पनि आगमन हुन्छ।
खासगरि, रुघा–खोकि, कमजोर प्रतिरोधक क्षमता, जोर्नीको दुखाई तथा दम आदि। तर अर्को एउटा स्वास्थ्यसंग सम्बन्धित समस्या पनि छ, जसले प्रायः मानिसलाई चिसोमा चिन्तित बनाउँछ। त्यो हो हाइपर टेन्शन।
सामान्य रुपमा हाई ब्लड प्रेसर गर्मीयाममा कम हुन्छ र जाडोयाममा यो समस्या बढ्छ। हाई ब्लड प्रेसरका कारण प्रायः रक्त सञ्चारको समस्या देखिन्छ, जसको परिणामस्वरुप हृदयघात जस्ता रोगको खतरा पनि बढ्छ।
विशेषज्ञहरुका अनुसार चिसो अर्थात जाडोयाममा हुने परिवर्तनले ब्लड प्रेसरमा सिधा प्रभाव पर्छ। ६५ वर्ष अथवा त्यो भन्दा बढी उमेरका मानिसका मौसम सम्बन्धि ब्लड प्रेसरमा उतारचढाव हुने सम्भावना बढी हुन्छ।
के कारणले जाडोमा ब्लड प्रेसर बढ्छ?
मुटु रोग विशेषज्ञहरुका अनुसार जाडोयाममा शरीरका रक्त धमनी र नसा खुुम्चिन्छ। जसको परिणामस्वरुप शरीरका अन्य भागमा रगत पुर्याउन अत्यधिक बल लगाउनु पर्छ। जसले गर्दा हाई ब्लड प्रेसरको समस्या हुन थाल्छ।
बढ्दो वजन पनि हाई ब्लड प्रेसरको एउटा कारण हुन्छ। यसको साथै बढी नुनको सेवनले पनि ब्लड प्रेसर बढाउँछ। धुम्रपान र मदिरापान पनि हाई ब्लड प्रेसरको कारण हुन्छ। यदि तपाईँमा ब्लड प्रेसरको समस्या पहिलादेखि नै छ भने डाक्टरको सल्लाह लिएर समय–समयमा आफ्नो ब्लड प्रेसर जाँच गरिराख्नु पर्छ।
कसरी बच्ने?
खानपिनमा ध्यान:
स्वास्थ ठीक राख्नका लागि भोजन सबैभन्दा आवश्यक कुरा हुन्छ। त्यसैले जाडोयाममा ब्लड प्रेसरलाई नियन्त्रित राख्नका लागि खानामा बढी ध्यान दिनु पर्छ।
जाडोयाममा बढी मात्रामा मौसमी फलफुल र तरकारीको सेवन गर्नु पर्छ। ब्लड प्रेशरको समस्याबाट पीडित हुनुहन्छ भने फ्याट फूड, फलफुल र डेयरी प्रोडक्टको सेवन गर्नु पर्छ।
कफी सेवन:
विशेषज्ञका अनुसार बढी मात्रामा गरिएको कफी सेवनले ब्लड प्रेसरलाई अनियन्त्रित गर्छ। जसले ब्लड प्रेसरको समस्या हुन सक्छ।
फास्ट फूड:
फ्रोजन पिज्जामा चीज, टम्याचो सस आदि त्यस्ता धेरै कुरा प्रयोग हुन्छ। जसमा चिनी, स्याचुरेटेड फ्याट र सोडियमको मात्रा अत्यधिक हुन्छ। त्यसैले बजारबाट ल्याएको पिज्जाभन्दा आफ्ना मन पर्ने तरकारी र लो सोडियम भएका कुरा प्रयोग गरेर घरमा नै पिज्जा बनाउन सक्नु हुन्छ।
ट्रान्स फ्याट र प्रोसेस्ड फूड:
ट्रान्स फ्याट र प्रोसेस्ड फूड जस्तो डोनट्, कुकीज, केक आदिबाट टाढा रहनु पर्छ। यी कुरामा पाइने ट्रान्स फ्याट शरीरमा ब्याड कोलेस्ट्रलको स्तरलाई बढाएर गुड कोलेस्ट्रोलको स्तर कम गर्छ। जसले ब्लड प्रेसर बढ्ने खतरा बढ्छ।
व्यायाम:
जाडोयाममा ब्लड प्रेसरलाई नियन्त्रतमा राख्नका लागि दिनहुँ व्यायाम गर्नु आवश्यक छ। यसका साथै दिनहुँ व्यायाम गर्नाले स्वास्थ्य राम्रो हुन्छ र वजन नियन्त्रित रहन्छ।