काठमाडौँ– बालबालिकाहरूलाई राम्रो परिवेश दिने दबाब हरेक बाबुआमालाई हुन्छ। आफ्ना छोराछोरीमा सबै राम्रा बानी होउन्, उनीहरू जिन्दगीमा सफलताको शिखर चुमुन् भन्ने चाहना हरेक आमाबाबुमा हुन्छ। तर कहिलेकाँही अभिभावकहरूले यस्ता केही गल्ती पनि गर्छन्, जसका कारण बच्चाहरू आमाबाबुसँग टाढिँदै जान्छन्। आजको यस लेखमा हामीहरू तपाईँलाई यस्तै केही गल्तीबारे बताउन गइरहेका छौँ। यस्ता बानीहरू हटाएर तपाई सन्तानको मिल्ने साथी बन्न सक्नु हुन्छ।
बच्चालाई दबाबमा राख्ने:
बच्चालाई ठिक ढंगले बाटो देखाउने, सम्झाउने बुझाउने असल प्यारेन्टिङको गुण हो। केही कुरा सम्झाउन केटाकेटीलाई डर देखाउने वा धम्काउने गर्नु हुन्न। बच्चाप्रति कठोर व्यवहार देखाउनु भयो भने तपाईँसँग आफ्नो इमोशन शेयर गर्न उनीहरू हिचकिचाउन थाल्छन्। यसो गर्दा मातापिता र बच्चाबच्चीबीच वार्तालाप घट्दै जान्छ। बच्चा मानसिक रूपले पनि राम्रोसँग विकसित हुन पाउँदैन।
बारम्बार अन्य बच्चासँग तुलना:
हरेक मान्छे आफैँमा युनिक हुन्छन्। बच्चामा पनि यही कुरा लागू हुन्छ। हरेक व्यक्तिको आ–आफ्नै सबल पक्ष हुन्छन्। त्यसैले बारम्बार अरू बच्चासँग आफ्ना छोराछोरीको तुलना नगर्नुस्। यस्तो गर्दा बच्चाको मनोबल कमजोर हुन्छ।
बच्चालाई समय नदिने:
मातापिताले आफ्नो व्यस्त समय तालिकाबाट समय निकालेर छोराछोरीसँग् बिताउनु पर्छ। यो यस्तो समय हो जसमा टिभी वा फोनको प्रयोग हुनु हुन्न। खाली भएको बेलामा फोन लिएर नबस्नुस्। बरु बच्चासँग कुनै गतिविधिमा सामेल हुनुस्। नत्र बच्चालाई लाग्न थाल्नेछ कि तपाईँको प्राथमिकता आफू नभएर फोन वा टिभी हो।
बच्चालाई हरेक क्षण असफलताबाट बचाउने कोसिस:
आफ्ना सन्तानलाई कुनै दुःख नहोस्, उसको आँखाबाट आँसु नै नझरोस् भन्ने चाहना मातापिताको हुन्छ। सन्तानले कहिले पनि असफलताको मुख देख्न नपरोस् उ सधैँ जीवनमा सफल भइरहोस् भन्ने चाहना हुन्छ। तर यस्तो सोचले बच्चाको विकासलाई नोक्सान पुर्याउँछ। किनकि असफलता पनि सफलताको मुख्य हिस्सा हो । असफलताले बच्चालाई लडेर फेरी उठ्न अनि सम्हालिएर हिँड्न सिकाउँछ । यसबाट बच्चाले पनि चुनौतीसँग लड्ने शिक्षा पाउँछ।
परर्फेक्शनको आशा:
आफ्नो बच्चा पढाइदेखि खेलकुदको मैदानसम्म हरेक ठाउँमा पर्फेक्ट होस् भन्ने आशा बाउआमाको हुन्छ। तर यस्तो आशाले बच्चामा अनुचित दबाब पर्छ। बच्चालाई गल्ती गर्न दिनुस्। त्यही गल्तीबाट सिक्न दिनुस् । यसरी मात्रै उनीहरू जीवनमा सफल व्यक्ति हुन सक्छन्।
बच्चाको अगाडि आफैँलाई बिर्सने:
बच्चाको आवश्यकता, रुचि र चाहनाको अगाडि कयौँ मातापिताले आफूलाई भुल्छन्। आफूमाथि ध्यान दिँदैनन्। यस्तो गर्नु पनि बच्चाको लागि हानिकारक हुन सक्छ। आफ्नो ख्याल राख्नु भयो भने मात्रै तपाई स्वस्थ रहनु हुनेछ। आफू स्वस्थ भए मात्रै तपाईँले बच्चाको हेरचाह गर्न सक्नु हुन्छ। त्यसैले आफ्नो लागि पनि समय निकाल्नुस्। एजेन्सी