यस्ता बानिले बिग्रिन सक्छ तपाईँको राम्रो सम्बन्ध - Chaitanya News
  • 2026-11-19
  • 14:44:11
  • बिहिबार,मंसिर ०४, २०८३
  • यस्ता बानिले बिग्रिन सक्छ तपाईँको राम्रो सम्बन्ध

    यस्ता बानिले बिग्रिन सक्छ तपाईँको राम्रो सम्बन्ध

    काठमाडौँ– सम्बन्ध कायम राख्न सधैँ सजिलो हुन्न। सम्बन्धहरूलाई सम्हालेर राख्नुपर्छ। हेरविचार गर्नुपर्छ। सावधानी अपनाउनु पर्छ र समझदारी पनि देखाउनु पर्छ। यी सबै कुराहरूले मात्रै सम्बन्ध स्वस्थ र बलियो बन्छ। तर कहिलेकाहीँ अन्जानमै मान्छेहरूले आफ्नो सम्बन्ध बिर्गान थाल्छन्। सम्बन्ध खराब हुनुमा व्यक्तिको व्यवहारले मुख्य भूमिका निर्वाह गर्छ। जसका कारण दुई व्यक्तिबिचको कनेक्शन नै हराउँदै जान थाल्छ।

    अव्यक्त आशाः

    अव्यक्त आशा पालेर कहिलेकाहीँ मान्छे मन मनमै अर्को मान्छेसँग टाढा हुन थाल्छन्, अर्को व्यक्तिसँग दूरी बनाउन थाल्छन्। मुखले केही नबोलीकन मन मनमै आशा अपेक्षाहरु राख्ने र इच्छाहरु व्यक्त नगर्ने गर्दा सम्बन्धमा असन्तुष्टि र असमझदारीको बिउ रोपिन्छ। कयौँ पटक चाँहि व्यक्ति आफूले नबोलिकन नै पार्टनरले बुझिदेओस् न भन्ने सोच्छ। आफ्नो आशाबारे अर्को व्यक्तिसँग कुराकानी नै गर्दैनन् अनि सधैँ हताश अनि निराश रहन्छन्। जसले गर्दा सम्बन्धमा दूरी आउन थाल्छ।

    सधैँ आफूलाई मात्रै सही भन्नेः

    जे कुरामा पनि मै ठिक हुँ, ‘मेरो गोरुको सोह्रै टक्का’को व्यवहार देखाउने बानीले पनि सम्बन्धलाई बिगार्न सक्छ। यसले सम्बन्धमा लडाई झगडा बढाउन थाल्छ। सम्बन्धमा दुबैले एक अर्कालाई बुभ्mनुको सट्टा आफैँलाई सही र अर्कोलाई गलत ठान्न थालियो भने सम्बन्धको ग्रोथमा खराब असर पर्छ।

    बेवास्ता गर्नेः

    पार्टनरहरूले एक अर्कालाई बेवास्ता गर्नु भनेको आपसी सम्बन्धको जगलाई कमजोर बनाउनु हो, बिगार्नु हो। अप्ठ्यारा विषयमा कुराकानी नगर्ने, समस्यालाई दबाउने या भावनात्मक रुपमा आफैँलाई पछाडि राख्ने गर्दा दुई जनाबिच भावनात्मक खाडल पैदा हुन सक्छ। यसले तपाईँको सम्बन्धमा अव्यक्त तनावको स्थिति उत्पन्न हुन्छ।

    गुनासोको पोको बनाउने:

    अर्कोले के गर्‍यो र के गरेन तथा आफूले चाँहि के के गरे भनेर हिसाब–किताब राख्ने बानीले सम्बन्धमा विष घोलिदिन्छ। एक अर्काले गरेको गल्ती टिपेर कुरै पिच्छे यस्तो गरेको वा नगरेको भनेर गल्ती गनिरहँदा पनि सम्बन्ध कमजोर हुन थाल्छ । यो बानीका कारण दुई जनाबिच असन्तुष्टि बढ्न सक्छ।

    ‘म जस्तै बन्नुपर्छ’ भन्ने मानसिकता:

    म जस्तै बन्नुपर्छ भन्ने मानसिकताले सम्बन्धमा तुलना र आलोचनालाई जन्म दिन्छ। सामुन्ने रहेको व्यक्तिलाई आफ्नो जस्तै बनाउने वा त्यस्तै व्यवहार गर्ने दबाब दिँदा सम्बन्धमा नराम्रो असर पर्छ। यस्तो खालको मानसिकताले पार्टनरमाथि दबाब बढ्छ। यही मानसिकताका कारण व्यक्तिको ग्रोथमा पनि नकारात्मक असर पर्न सक्छ।