१० महिनाको अवधिमा त्रिभुवन विमानस्थलबाट ७० लाख २३ हजारले गरे यात्रा - Chaitanya News
  • 2026-11-19
  • 14:16:40
  • बिहिबार,मंसिर ०४, २०८३
  • १० महिनाको अवधिमा त्रिभुवन विमानस्थलबाट ७० लाख २३ हजारले गरे यात्रा

    १० महिनाको अवधिमा त्रिभुवन विमानस्थलबाट ७० लाख २३ हजारले गरे यात्रा

    काठमाडौं– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा ७० लाख २३ हजार ९०७ जना यात्रुले यात्रा गरेका छन्। यो काठमाडौं भित्रने र यो विमानस्थल हुँदै बाहिरिने यात्रुको संख्या हो।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको तथ्यांक अनुसार १० महिनामा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३६ लाख ७९ हजार ६०५ जना रहेको छ।

    आन्तरिक टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३३ लाख ४४ हजार ३०२ रहेको तथ्यांक छ। यस अवधिमा काठमाडौंबाट १९ लाख ५८ हजार ६८७ जना यात्रु विदेश उडेका छन्। विदेशबाट काठमाडौं भित्रने यात्रुको संख्या १७ लाख २० हजार ९१८ रहेको छ। बाहिरी जिल्लाबाट जहाजमा काठमाडौं भित्रने यात्रुको संख्या १६ लाख ६८ हजार २७ रहेको छ। काठमाडौंबाट बाहिरी जिल्लामा जाने यात्रुको संख्या १६ लाख ७६ हजार २७५ जना रहेको तथ्यांक छ।

    यस अवधिमा काठमाडौं विमानस्थलमा कुल २५ हजार ६७४ वटा अन्तर्राष्ट्रिय उडान अवतरण (फ्लाइट मुभमेन्ट) भएका छन्। जसमध्ये १२ हजार ८३७ उडान र १२ हजार ८३७ नै अवतरण भएको तथ्यांक छ। आन्तरिकतर्फ कुल ७८ हजार ६६३ वटा उडान–अवतरण भएका छन्। जसमध्ये अवतरण ३९ हजार ३१९ र उडान ३९ हजार ३४४ रहेको तथ्यांक छ।