काठमाडौँ– अर्थ मन्त्रालयले ६ जना सहसचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेको छ। अर्थमन्त्री डा.प्रकाश शरण महतले केही दिन अघि सरुवा भई आएका र लामो समयदेखि बरण्डा(अतिरिक्त)मा रहेका सहसचिवहरूको खटनपटन गरेका हुन्।
प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यलाई दिइएको छ भने लामो समयदेखि अतिरिक्तमा रहेका राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा खटाइएका छन्। यसैगरी त्यहाँका शम्भु प्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासक बनाई पठाइएको छ।
मन्त्री महतले सहसचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिएका छन् भने अमृत लम्साललाई मध्यम स्तरीय करदाता कार्यालय, बबरमहलको प्रमुख कर प्रशासक बनाई पठाएका छन्। सहसचिव पार्वती शर्मालाई आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा पठाइएको छ।
अर्थ मन्त्रालय निकै संवेदनशील र महत्त्वपूर्ण मन्त्रालयका रूपमा लिइन्छ तर पछिल्लो समय ‘कमाऊ’ अड्डाका रूपमा लिइदा देशको अर्थतन्त्र दिनप्रतिदिन ओरालो लाग्दो छ। राजनीतिदेखि प्रशासनसम्मै विज्ञ भन्दा पनि ‘व्यवस्थापन’ गर्न सक्नेहरूको पोल्टामा मिल्काइँदा यति बेला कोही कसैले कामै गर्न नसक्ने अवस्थामा पुगेको छ भने सीमित ‘बिचौलिया’हरुको सेटिङको नतिजा बिस्तारै देखिन थालेको छ।
स्मरण रहोस्, यही जान सहसचिवको शक्ति संघर्षका कारण कैयन् पटक सहसचिवको सरुवा नै रोकिएको थियो भने त्यति नै पटक मन्त्रिपरिषदले निर्णय गर्नुपरेको थियो।