लेखा परीक्षणका लागि विभिन्न जिल्लामा खटियो टोली - Chaitanya News
  • 2026-09-22
  • 05:50:11
  • मंगलबार,आश्विन ०६, २०८३
  • लेखा परीक्षणका लागि विभिन्न जिल्लामा खटियो टोली

    लेखा परीक्षणका लागि विभिन्न जिल्लामा खटियो टोली

    काठमाडौँ– सरकारी खर्चको लेखा परीक्षणका लागि महालेखापरीक्षकको कार्यालयको टोली विभिन्न जिल्लामा खटिएको छ। आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन तयार गरिरहेको महालेखापरीक्षकको कार्यालयको टोली विभिन्न २८ जिल्ला खटिएको हो।

    सानो जिल्लामा एकदेखि ठूलो जिल्लामा तीन वटासम्म टोली खटाइएको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता एवं नायव महालेखापरीक्षक वैकुण्ठ बहादुर अधिकारीले जानकारी दिए। माघ मसान्तसम्म लेखा परीक्षण सकेर चैत मसान्तमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने कार्यालयको योजना छ।

    गत वर्ष ६ हजार पाँच सय ७६ वटा संस्थाको ७१ खर्ब ३८ अर्ब १७ करोड रुपैयाँको लेखा परीक्षण गरेकोमा एक खर्ब १९ अर्ब ७८ करोड बेरुजु देखिएको थियो । यो वर्ष पनि गत वर्षकै हाराहारी रकमको लेखा परीक्षण हुने अनुमान गरिएको छ।

    लेखा परीक्षण सुधारका लागि ८१ बुँदे निर्देशन जारी गरेको कार्यालयले गुनासोहरूको जवाफ व्यवहारबाटै दिने गरी काम गरिरहेको छ। लेखा परीक्षण सुधारका लागि अडिटरको व्यवहार र अडिट क्वालिटीमा सुधार गर्नुपर्ने देखिएको कार्यालयले जनाएको छ।