काठमाडौं– दाङको क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीच मंसिर ४ को चुनावमा मुख्य प्रतिस्पर्धा हुने भएको छ। पोखरेल लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री हुन भने शर्मा पूर्व सामान्य प्रशासनमन्त्री हुन। यो क्षेत्रमा पोखरेल र शर्माबीच प्रतिस्पर्धा हुँदैछ। दाङको तुलसीपुर उपमहानगरपालिका बिजौरीमा घर भएका पोखरेल यसअघिको चुनावमा वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरालाई प्रतिनिधि सभा छोडेर प्रदेश सभामा दाङ–२ (क) बाट चुनाव लडेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए।
कुन कुन पालिका पर्छन त यो क्षेत्रमा?
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका सबै वडा र तुलसीपुर उपमहानगरका १६, १७, १८ र १९ नम्बर वडा पनि यही क्षेत्रमा पर्छन्। यो क्षेत्रमा पर्ने तीन पालिकाका वडाध्यक्षको मत गन्ने हो भने गएको वैशाखमा भएको पालिका चुनावको मत परिणामअनुसार सत्ता गठबन्धन अगाडि छ।
बदर मत जोगाए प्रतिस्पर्धा अझ रोचक हुने?
प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव पालिका चुनावभन्दा भिन्न भएता पनि गएकोे पालिका चुनावको मत परिणामलाई पूर्ण रुपमा अस्वीकार गर्न भने सकिँदैन।
वैशाखमा भएको पालिका चुनावमा घोराही उपमहानगरमा नेकपा (एमाले)का नरुलाल चौधरी ३१ हजार ७ सय २८ मतका साथ नगर प्रमुखमा विजयी भएका थिए भने कांग्रेस र माओवादीको गठबन्धनका साझा उम्मेदवार हेमराज शर्मा ‘डायमण्ड’ले २६ हजार ३ सय ६८ मत ल्याएका थिए। नरुलाल चौधरी र हेमराज शर्माको मतान्तर ५ हजार ३ सय ६० थियो।
मेयर पदका अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरिता देवकोटाले ५ हजार ३ सय २४ भोट ल्याएका थिए। गठबन्धनमा कुरा नमिल्दा नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि छुट्टै उम्मेदवार उठाएको थियो। एकीकृत समाजवादीबाट राम प्रसाद चौधरीले एक हजार १ सय ४३ मत ल्याएका थिए। घोराही उपमहानगरपालिकामा १० हजार ७ सय ३० मत भने बदर भएको थियो। मतदाता शिक्षाको अभाव एवम् तल माथि गरेर धेरै भोट हाल्नु पर्ने झन्झटिलो प्रक्रियाले गर्दा बदर भएको धेरैजसो मत आफ्नो रहेको गठबन्धनको दाबी छ।
गठबन्धनको मतमा बदर मत थप्ने हो भने गठबन्धन यहाँ ५ हजार मतले अगाडि हुन आउँछ। जसको प्रत्यक्ष फाइदा यहाँ रेखा शर्मालाई हुनसक्छ किनकि यसपालीको मतपत्रमा गठबन्धनबाट जुन दलले टिकट पाएको हो उसको मात्र चुनाव चिन्ह रहने गरी मतपत्र छापिएका छन्। अर्थात् माओवादीले टिकट पाएको क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह हुने छैन भने कांग्रेसले टिकट पाएको ठाउँमा माओवादीको चुनाव चिन्ह हुने छैन।