काठमाडौँ– कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार दीपककुमार पहाडीले एनसेलको सेयर अद्यावधिक नभएको बताएका छन्। संसद्को सार्वजनिक लेखा समितिको बैठकमा उनले एनसेलको सेयर अहिलेसम्म अद्यावधिक नभएको बताएका हुन्।
आजियाटाले टेलिया सनेराबाट रेनोल्ड्स होल्डिङ किनेको थियो। उनले विदेशी लगानीकर्ताले विधि पुर्याएपछि रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न आउने बताए। एनसेल विसं २०७७ अघि प्राइभेट कम्पनी थियो। सार्वजनिक बनाउन उनीहरूले ११ सेयर ६ जनालाई थपेर सार्वजनिक कम्पनी बनेको उनको भनाइ छ।
टेलिया सनेराले आफ्नो सेयर अफशोर मै बिक्री गरेको उनले बताए। अहिले आजियाटा मालिक भए पनि सेयर रेनोल्ड्सको नै भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ।
आजियाटाले होल्डिङ नै बिक्री गरेकाले सेयर अद्यावधिक नभएको उनले बताए। थपिएका सेयर होल्डरहरु लेना केशरी कंशाकार, कवीन मुर, समीर गौतम, कञ्चन सिंह कार्की, ज्योति दाहाल, उमा महर्जन हुन्।
११ कित्ता सेयर थपेर सार्वजनिक कम्पनी बनेको पहाडीले स्पष्ट पारे। २० प्रतिशत नेपाली पार्टनर र ८० प्रतिशत रेन्होल्डसकै हो। रेन्होल्ड्स कम्पनी परिवर्तन नभएको उनले जानकारी दिए।