पाँच जना कर्मचारी सचिव पदमा बढुवा - Chaitanya News
  • 2026-05-04
  • 11:28:57
  • सोमबार,बैशाख २१, २०८३
  • पाँच जना कर्मचारी सचिव पदमा बढुवा

    पाँच जना कर्मचारी सचिव पदमा बढुवा

    काठमाडौँ– पाँच जना कर्मचारीलाई बढुवा गर्ने निर्णय गरिएको छ। बागमती प्रदेश सरकारले प्रदेश निजामती ऐन २०७९ अनुसार उनीहरूलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।

    प्रदेश सरकारको बुधवार बसेको बैठकले उक्त ऐन अनुसार पाँच जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको हो।

    बैठकले स्वास्थ्य तर्फको चार र शिक्षा सेवातर्फको एक गरी पाँच जनालाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले बताए। प्रदेश निजामती कर्मचारी ऐन २०७९ अनुसार ११ औँ तहका कर्मचारी प्रदेश सचिव हुने व्यवस्था रहेको छ।

    मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तर्फ दीपक तिवारी, वसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको प्रमुख सचिव उपाध्यायले बताए।

    उनका अनुसार यस अघि नै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरी उनीहरूलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो। तर, अदालतमा मुद्दा परेपछि बढुवा प्रक्रिया रोकिएको थियो। अदालतले उक्त मुद्दाका सम्बन्धी रिट खारेज गर्ने निर्णयसँगै प्रक्रिया अघि बढाइएको हो।