कोरोनाको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरूको विवरण सरकारसँग माग - Chaitanya News
  • 2026-05-05
  • 07:12:44
  • मंगलबार,बैशाख २२, २०८३
  • कोरोनाको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरूको विवरण सरकारसँग माग

    कोरोनाको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरूको विवरण सरकारसँग माग

    काठमाडौँ– प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरूको विवरण सरकारसँग माग गरेको छ।

    समितिमा परेका विभिन्न उजुरी र अघिल्लो कार्यकालमा टुङ्गिन बाँकी रहेका विषयमाथि अध्ययन गरिरहेको छ। सोही क्रममा समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एक साताअघि पत्र लेखेर कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको विवरण माग गरेको जनाइएको छ।

    पत्रमा यथाशीघ्र विवरण उपलब्ध गराउनू भने पनि स्वास्थ्य मन्त्रालयले जवाफ नपठाएको समिति सचिवालयले जनाएको छ। नेपालमा कोरोना महामारी फैलिन नदिन २०७६ साल चैतमा सरकारले लकडाउन गरेको थियो।

    त्यही बेला सरकारले आवश्यक स्वास्थ्य उपकरण चीनबाट खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल नामक कम्पनीसँग सम्झौता गरेको थियो। तर विना प्रतिस्पर्धा ओम्नीलाई जिम्मा दिएको र सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध भएको थियो। प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा लेखा समितिले कागजपत्र मगाएर यो विषयमा छलफलसमेत गरेको थियो। तर टुङ्गोमा पुगेको थिएन।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सामग्री खरिद प्रक्रिया कानुनविपरीत भएको प्रतिवेदन समेत दिएको थियो। लेखा समितिले ३ पुस २०७७ मा ओम्नी प्रकरणमाथि थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो।

    २०७९ मङ्सिरको चुनावपछि गठन भएको संसद्को सार्वजनिक लेखा समितिले यो विषयमा पुनः छलफल अघि बढाउन खोजेको हो ।