इलाम– माई नगरपालिकाले प्राथमिक तहका शिक्षकलाई पेशागत तालिम दिने भएको छ। नगरपालिकाले प्राथमिक तहमा कार्यरत सबै शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नको लागि सो तालिम सञ्चालन गर्न लागेको हो।
पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकको शिक्षण पद्धतिमा परिवर्तन गर्नका लागि तालिम सञ्चालन गर्न लागेको नगरपालिकाको शिक्षा अधिकृत सीतादेवी लावतीले बताईन्। शैक्षिक तालिम केन्द्रले क्षमता अभिवृद्धि गरे पनि केही शिक्षकलाई मात्रै सहभागी गराइने उनले बताइन्।
पालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा कार्यरत ६९ जना शिक्षकलाई सो तालिममा सहभागी गराइने उनले जानकारी दिइन्। तालिमबाट शिक्षण पद्धतिमा परिवर्तन आउनुका साथै गुणस्तरीयतामा समेत सुधार हुने उनको विश्वास छ।
मुलुकभरका स्थानीय तहमध्ये आफूहरूले पहिलो पटक सो तालिम सञ्चालन गर्न लागेको उनले जानकारी दिइन् । सोका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाइन्। साथै शिक्षकहरूको क्षमता विकासको लागि विषयगत तालिम दिइने उनले बताइन्।
उनका अनुसार नगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ। आर्थिक रुपमा विपन्न परिवारका सदस्यको लागि छात्रवृत्तिको व्यवस्था गरेको छ। छात्रवृत्तिका लागि नगरपालिकाले आवेदन माग गर्ने र छनौट गरी छात्रवृत्ति वितरण गरिने उनले सुनाइन्।
साथै, नगरपालिकाले स्थानीय पाठ्यपुस्तक हाम्रो माइ नगर लेखन कार्य सुरु गरेको छ। विगतको वर्षदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको नगरपालिकाले चालु आवदेखि पाठ्यपुस्तक लेख्न थालेको उनले सुनाइन्।
उनका अनुसार कक्षा ४, ५ र ८ को पाठ्यपुस्तक छपाइको लागि पठाइसकेको छ। १ र ३ को लेखन कार्य सुरु गरेको उनको भनाइ छ। पाठ्यपुस्तकमा स्थानीय स्रोत साधन, पहिचान, मौलिकता तथा विभिन्न पक्ष समेटिएको उनले सुनाइन्।