काठमाडौं– नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउन माग गरिएको आवेदनमा आवश्यकताभन्दा कमको मात्र नाम निस्किएको छ। वैदेशिक रोजगार विभागका अनुसार ७१ जनाको ‘सट लिस्ट’ मा नाम निस्किएको छ।
हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउने गरी यूकेसँग समझदारी भएको थियो। सोही समझदारी अनुसार यूके जान जाहने इच्छुक नर्सहरूका लागि सरकारले गत जुलाई २० मा गोरखापत्रमा सूचना जारी गर्दै आवेदन माग गरेको थियो।
आवेदन भर्नका लागि ९० दिनको समय दिइएको थियो। तर, सो आवेदनमा ७७१ जनाले फर्म भरे पनि अधिंकाशको नर्सले माग अनुसारको कागजात पुर्याउन सकेनन्। वैदेशिक रोजगार विभागका निर्देशक गोपालराज तिमल्सिना अनुसार नेपालबाट आवश्यक कागजात पुरा गरेका ७८ जनाको आवेदन सबमिट गरिएको थियो।
नर्सको योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर ७१ जनाको मात्रै सूची नेपालमा पठाएको छ। ‘सट लिस्ट’मा परेका नर्सको बेलुका सम्म सुचना निकालेर प्रकाशित गर्न लागेका छौं,’ तिमल्सिनाले भने।
आवेदन दिँदा कम्तीमा दुई वर्षको कार्यानुभव भएको र अंग्रेजी भाषा परीक्षाको प्रमाणपत्र पेस गर्नुपर्छ। तर, अधिकांश नर्सलाई भाषाको मापदण्ड पूरा गर्न समस्या देखिएकाले कमैले मात्रै कागजात पेश गर्न सकेको तिमल्सिनाले बताए।
‘आवेदन दिएका मध्ये बेलायतले खोजेको मापदण्ड अनुसारका गुणस्तरका नर्स भेटिएनन्। पुराना नर्समा भाषाको समस्या र नयाँ नर्समा कार्यानुभवको समस्याले मागेको जति आवेदन संख्या पनि पुगेन,’ तिमल्सिनाले अनलाइनखबरसँग भने।
नेपाल र यूकेबीच भएको समझदारी अनुसार आवेदन दिन कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ। दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य रूपमा पेश गर्नुपर्छ।
नर्सहरूले इन्टरन्याशनल इङ्लिश ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा कम्तीमा ७ अंक ल्याउनुपर्ने हुन्छ। राइटिङ, स्पिकिङ, लिसनिङ र रिडिङ गरी चारखाले मापदण्डमा अंक दिइने आईईएलटीएसमा राइटिङ बाहेक सबैमा ७ अंक आउनुपर्ने हुन्छ।
मापदण्ड अनुसार राइटिङमा भने ६.५ मात्र ल्याए पनि नेपाली नर्स यूके जानका लागि भाषामा योग्य मानिन्छन्। सटलिस्टको सूचीमा परेका नर्सको मात्रै अन्तर्वार्ता हुने र छनोटमा भएका नर्स मात्रै यूके जान पाउनेछन्।
‘उनीहरुले पठाएको सूचीमा परेको नर्स मात्रै अन्तर्वार्तामा समावेश हुन पाउनेछन्। डीएचएससी प्रतिनिधि र युेकेको स्वास्थ्य सेवा विभागका प्रतिनिधि र नर्स हुनेछन्,’ तिमल्सिनाले भने, ‘ ७१ जनाको अन्तर्वाताको समय पनि तोकिदिएका छन्। सहजीकरणको लागि उहाँहरुले मान्नुभयो भने विभागको एक प्रतिनिधि हुनुहुनेछ।’
छनोट भएर गएका नेपाली नर्सले तीन महिनाको एउटा तालिम लिनुपर्नेछ। उक्त तालिमबाट योग्य बनेपछि मात्र नेपाली नर्सहरूले त्यहाँका स्वास्थ्य संस्थामा काम गर्न पाउने नियम छ। त्यस अवधिमा पनि उनीहरूले पारिश्रमिक भने पाउनेछन्। नेपाली नर्सहरूले पनि ब्रिटेनमा दर्ता भएपछि त्यहाँका ‘रजिस्टर्ड नर्स’ बराबरको तलब पाउनेछन्।
सम्झौता अनुसार उनीको तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड (करिब साढे ५१ लाख रुपैयाँ) सम्म पाउन सक्छन्। त्यसबाहेक उनीहरूले २७ दिनको वार्षिक र सार्वजनिक बिदाहरू पाउनेछन्।