लोकसेवा तयारी गरिरहेकाहरूका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर) - Chaitanya News
  • 2026-06-07
  • 00:50:14
  • शनिबार,जेठ २३, २०८३
  • लोकसेवा तयारी गरिरहेकाहरूका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर)

    लोकसेवा तयारी गरिरहेकाहरूका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर)

    1. निजामती सेवा भन्नाले के बुझिन्छ ? यसका विशेषता उल्लेख गर्नुहोस् ।(५)

    उत्तर:

    • सामान्य अर्थमा गैरसैनिक तथा  गैरप्रहरी चरित्रको एवं कानूनद्वारा निजामती सेवा वा पद होईन भनि तोकिएका पदबाहेकका सेवा वा पदलाई निजामती सेवा वा पद भनिन्छ ।
    • सरकार वा राज्यलाई नीति निर्माणमा सहयोग पुर्‍याउने एवं राज्य वा सरकारद्वारा निर्माण गरिएका नीतिलाई कार्यन्वयन गर्ने संयन्त्र हो निजामती सेवा ।
    • निजामती सेवालाई स्थायी सरकार समेत भनिन्छ।
    • राज्य संचालनको आधारभूत अंगको रुपमा रहेको निजामती सेवा नेपालमा निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० द्वारा नियन्त्रित एवं निर्देशित रहेको छ ।

    निजामती सेवाका विशेषता

    • राज्यका अन्य सेवाहरुको मियोको रुपमा रहने निजामती सेवाका विशेषताहरु देहायबमोजिमका रहेका छन् ।
    • निजामती सेवा गैरसैनिक चरित्रको रहेको हुन्छ।
    • यो जनउत्तरदायी एवं जनमैत्री रहेको हुन्छ ।
    • यो समय सापेक्ष एवं गतिशील हुन्छ ।
    • यो सबै सरकारी सेवाको मार्गदर्शक सेवा हो।
    • यो बहुआयामिक हुन्छ ।

     

    2.सुचनाको हक सम्बन्धी ऐन, २०६४ का उद्देश्य के-के हुन् ? लेख्नुहोस्  (५)

    उत्तर:

    नागरिकले व्यक्तिगत एवं सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने वा प्राप्त गर्ने हकलाई सूचनाको हक भनिन्छ। सूचनाको हक सम्बन्धी ऐन, २०६४ का उद्देश्य देहायबमोजिमका रहेका छन् ।

    • राज्यका काम कारबाही खुला र पारदर्शी बनाई सरकारलाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउनु
    • सार्वजनिक सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउनु
    • राज्य र नागरिकको हित प्रतिकूल हुने संवेदनशील सूचनाको संरक्षण गर्नु
    • नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलित गराउनु

     

    3.सुशासन ( व्यवस्थापन तथा संचालन) ऐन, २०६४ मा व्यवस्था भए अनुसार प्रशासनिक कार्य सम्पादन गर्दा नेपाल सरकारले अख्तियार गर्ने नीतिहरु के-कस्ता तोकिएका छन् ? उल्लेख गर्नुहोस्। (५)

    उत्तर:

    सुशासन ( व्यवस्थापन तथा संचालन) ऐन, २०६४ मा व्यवस्था भए अनुसार प्रशासनिक कार्य सम्पादन गर्दा नेपाल सरकारले अख्तियार गर्ने नीतिहरु देहायबमोजिमका तोकिएका छन्।

    • आर्थिक उदारीकरण
    • गरिबी निवारण
    • सामाजिक न्याय
    • प्राकृतिक तथा अन्य सार्वजनिक स्रोतको दीगो तथा कुशल व्यवस्थापन
    • महिला सशक्तिकरण तथा लैङ्गिक न्यायको विकास
    • वातावरणीय संरक्षण
    • जनजाति, दलित तथा आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गको उत्थान
    • दुर्गम क्षेत्रको विकास तथा सन्तुलित क्षेत्रीय विकास।

    4. सार्वजनिक सेवाप्रवाहको मूल्याङ्कनका आधार उल्लेख गर्दै सार्वजनकि सेवा प्रवाहमा सूचना प्रविधिको महत्व बारे लेख्नुहोस्। (१०)

    उत्तर:

    • राज्यको तर्फबाट जनताको हित एवं कल्याणको लागि उपलब्ध गराईने वस्तु वा सेवालाई सार्वजनिक सेवा भनिन्छ।
    • राज्य वा सरकारले जनातासमक्ष सार्वजनिक सेवा पुर्‍याउने कार्यलाई सार्वजनिक सेवा प्रवाह भनिन्छ।
    • सार्वजनिक सेवा प्रवाह राज्यको नियमित कार्य हो।
    • सार्वजनिक सेवा प्रवाहको प्रभावकारीता एवं प्राप्त सार्वजनिक सेवाले प्रदान गरेको जनसन्तुष्टी तथा जनसमर्थन सहितको जनप्रगतीको निर्धारक तत्व नै सार्वजनिक सेवा प्रवाहका मूल्याङ्कनका आधार हुन् । जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।-गुणस्तर

      -पहुँच

      – समन्याय

    -प्रभावकारीता

    -सान्दर्भिकता

    -कार्यदक्षता

    -प्रभाव

    -दीगोपना आदि।

    सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको महत्व

    सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • सार्वजनिक सेवा प्रवाह प्रकृयालाई सरलीकरण गर्न
    • सेवा प्रवाहका क्रममा लाग्ने समय तथा लागतमा न्यूनिकरण गर्न
    • सार्वजनिक सेवामा आमनागरिकको सहज पहुँच अभिबृद्धि गर्न,
    • स्रोत साधनको दीगो, कुशल एवं न्यायपूर्ण व्यवस्थापन गर्न
    • सेवा प्रवाहमा पारदर्शीता कायम गर्न
    • सार्वजनिक सेवा प्रदायकलाई उत्तरदायी बनाउन
    • सेवा प्रवाहलाई जनमैत्री एवं प्रभावकारी बनाउन।

    5. राष्ट्रिय परिचयपत्रको परिचय दिँदै यसको आवश्यकताबारे उल्लेख गर्नुहोस्। ५

    उत्तर:

    • नागरिकहरुको वैयक्तित तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो राष्ट्रिय परिचयपत्र ।
    • यसमा व्यक्तिको पहिचान खुल्ने विभिन्न विवरणहरु राखिएको हुन्छ ।
    • राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धमा विशिष्टिकृत निकायको रुपमा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको गठन एवं संचालन गरिएको छ।
    • यो विद्युतीय प्रणालीमा आधारित एकिकृत वैयक्तित विवरण हो।
    • यसमा नदोहोरिने गरी प्रत्येक व्यक्तिलाई १० अंकको पृथक राष्ट्रिय परिचय नम्बर उपलब्ध गराईन्छ ।

    राष्ट्रिय परिचयपत्रको आवश्यकता

    राष्ट्रिय परिचयपत्रको आवश्यकतलाई देहायबमोजिम उल्लेख गरिन्छ ।

    -नेपाली नागरिकहरुको वैयक्तित तथा जैविक विवरणहरुको केन्द्रीकृत अभिलेख तयार गर्न

    -राष्ट्रिय पहिचान सहितको बहुउपयोगी बायोमेट्रिक स्मार्ट कार्ड प्रदान गर्न

    -परिचय खुल्ने राष्ट्रिय परिचय नम्बर प्रदान गर्न

    -नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा सुविधाहरुलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध गर्न

    -राष्ट्रिय परिचयपत्र प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखहरुलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्न ।

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100