मिथिलाञ्चललगायत तराई मधेशमा हर्सोल्लासपूर्वक मनाइने छठ पर्वको तयारी सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको तयारी सुरु भएको हो ।
छठ पर्वको लागि अहिले जनकपुरधामका पोखरीहरूलाई सजाउने कार्य जारी छ । बजारमा पनि पूजा सामग्री किन्नेहरूको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो ।
सूर्यलाई अघ्र्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयको किनारमा घाट बनाएर विशेष रूपले सिँगारिँदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरू गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउलगायत पोखरीहरू झकीझकाउ पारिएको छ ।
जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज सर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरूले छठ पूजा गर्ने गर्दछन् । जनकपुरधामका साथै तराई मधेशका गाउँगाउँमा रहेका पोखरीहरूलाई समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भइरहेको छ ।
यस वर्ष शुक्रबारबाट छठ पर्व सुरु हुँदैछ । छठको पहिलो दिन शुक्रबार नहाय खाय, शनिबार खरना, आइतबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइनेछ भने सोमबार उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रूपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।
त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।