कार्तिक महिनाबाट सशस्त्र प्रहरी बलले मधेश प्रदेशबाट सुरु गरेको नेपाल(भारत सीमा स्तम्भहरूको मर्मतसम्भारलाई देशव्यापी बनाइने अधिकारीहरूले बताएका छन्।
सशस्त्र प्रहरी बलका प्रवक्ताले नेपाल इन्डिया बाउन्ड्री वर्किङ्ग ग्रुप नामक संयन्त्रको निर्णय अनुसार जोर सीमा स्तम्भ भारतले र बिजोर सीमा स्तम्भ नेपालले मर्मत गर्ने काम अघि बढाइने बताएका हुन्।
एक जना सीमाविद्ले सुस्त रहेको सीमा स्तम्भ मर्मतका कामहरू अघि बढ्नु सकारात्मक भएको र त्यसलाई भारत र नेपाल दुवैका सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थितिमा विवादरहित ढङ्गले टुङ्गोमा पुर्याइनुपर्ने बताए।
उनका विचारमा एक दशकभन्दा लामो समयदेखि नेपाल चीन संयुक्त सीमा संयन्त्रको बैठक बस्न सकेको छैन जसले गर्दा उत्तरतर्फका नाकाहरूमा पनि सीमा स्तम्भहरूको नियमित मर्मतसम्भारमा चुनौती देखिएको छ।
सीमा स्तम्भहरूको अवस्था कस्तो छ ?
नेपाल र भारतबीच १८ सय किलोमिटर भन्दा लामो सीमारेखा रहेको छ भने नेपाल र चीनबीच १४ सय किलोमिटर भन्दा लामो सीमारेखा रहेको छ।
तर दुवै देशका सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको नियमित मर्मतसम्भारको काम अपेक्षा अनुसार हुन नसकेको विज्ञहरू ठान्छन्।
एक जना सीमाविद् बुद्धिनारायण श्रेष्ठले भने, “नक्सा अनुसार नेपाल भारत सीमामा ८, ५५३ सीमा स्तम्भ हुनुपर्ने हो। तर त्यसमध्ये झन्डै ४९ प्रतिशत सीमा खम्बा स्थापित गर्न बाँकी नै छ।”
नेपाल भारत बोर्डर वर्किङ् ग्रुपले ३ वर्ष यता काम गर्न नसकेको उल्लेख गर्दै उनले भारतीय पक्षको सुस्तताका कारणले उक्त संयन्त्रको बैठक समेत हुन नसकेको बताए।
आफ्नो अध्ययनलाई उद्धृत गर्दै श्रेष्ठले नेपाल र भारतबीच १,५०६ वटा सीमा खम्बा जीर्ण अवस्थामा रहेको र २,८९१ वटा खम्बा सामान्य मर्मत गरेपनि हुने अवस्थामा रहेको उल्लेख गरे।
उनी भन्छन्, “स्थापना गरेको ४,३६० सीमा स्तम्भहरू मध्ये मेरो अध्ययन अनुसार २०२ वटा लोप भएको छ। ४९९ वटा खोलाले बगाएको छ। अहिले सशस्त्र प्रहरी बलले सीमा स्तम्भ मर्मत र रङ्गरोगनको काम अघि बढाएका छन्। कति ठाउँमा भारतीय सुरक्षा बलको पनि उपस्थिति छ र कति ठाउँमा उनीहरू उपस्थित नभएका विवरण आएका छन्। सीमामा त्यस्तो काम गर्दा दुवै देशका निकायहरूको उपस्थितिमा काम हुनुपर्छ।”
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार नेपाल र भारतका सीमा सुरक्षा बलको उपस्थितिमा नै सीमा स्तम्भहरूको मर्मतको काम भइरहेको छ।
उनले भने, “भारतको एसएसबीले अगाडि नै धेरै पिलरहरू मर्मत गरिसकेको अवस्था हो। २०७७ साल साउनमा नेपाल सरकारले सशस्त्र प्रहरी बललाई सीमा स्तम्भको रेखदेख गर्ने र मर्मत एवं संरक्षण गर्ने सहितका जिम्मा दिइने छ भनेर निर्णय गरेपछि कार्यविधिहरू तयार गरियो। सरकारले बजेट दिएपछि अहिले पहिलो चरणमा हामीले जीर्ण हुन लागेको र रुग्ण देखिएकोलाई मर्मत गर्ने काम थालेका हौँ।”
अन्तर्राष्ट्रिय सीमा सुरक्षा कसको जिम्मा हो ?
अन्तर्राष्ट्रिय सिमाना र सीमा स्तम्भको सुरक्षा गृह मन्त्रालयको काँधमा छ। विक्रम संवत् २०७८र२०७९ को एउटा प्रतिवेदनमा उक्त आर्थिक वर्षमा नेपाल भारत सीमामा २ वटा घर टहरा जस्ता संरचना हटाइएका र एसएसबीबाट भएका ३ वटा दशगजा अतिक्रमणका घटनामा सशस्त्र प्रहरी बलले रोक लगाइएको उल्लेख छ।
चीनतर्फको सीमा क्षेत्रमा एउटा त्यस्तो संरचना हटाइएको र चीनले एकतर्फी रूपमा निर्माण गरेको अर्को एउटा संरचना निर्माणमा सशस्त्र प्रहरी बलले रोक लगाएको जनाइएको छ।
चीनसँग पनि सीमा क्षेत्रमा समस्याहरू रहेका केही समयपहिले हुम्ला जिल्लामा गृहमन्त्रालयले पठाएको अध्ययन टोलीले निष्कर्ष निकालेको थियो।
कालापानी र सुस्ताका कारण नेपाल र भारतबीचको सीमा समस्या जटिल बन्ने गरेको छ। केहीवर्ष पहिले जारी गरिएको चुच्चे नक्साले उक्त मामिला थप चुनौतीपूर्ण बनेको छ।
चीनसँग पनि नेपालको हुम्ला जिल्लाको सीमा क्षेत्रमा केही समस्याहरू देखिएका गृहमन्त्रालयको एउटा अध्ययनले देखाएको थियो।
चीनसँगका सीमा स्तम्भमा के समस्या ?
सीमाविद् बुद्धिनारायण श्रेष्ठ जस्ता कतिपय विज्ञहरूले नेपालको उत्तरी सीमामा पनि सीमा स्तम्भहरू मर्मत सम्भार गर्नु आवश्यक भइसकेको बताउँछन्।
श्रेष्ठले भने, “चीनसँगको सिमानामा ७९ वटा मूल खम्बा र २० वटा सहायक खम्बाहरू रहेका छन्। नदीको बहावका कारणले लगभग केही खम्बाहरू जीर्ण भएका छन्। पूर्व पश्चिम गरेर १२ वटा खम्बाहरू जीर्ण छन् र यिनको मर्मत गरिएको छैन।”
नेपाल(चीन संयुक्त सीमा समितिले सन् २०१२ यता काम गर्न नसकेकाले मर्मत सम्भारको काम हुन नसकेको उनको भनाइ छ।