म्हः पूजा र नेपाल सम्वत - Chaitanya News
  • 2026-11-19
  • 11:38:07
  • बिहिबार,मंसिर ०४, २०८३
  •  

     

    म्हः पूजा

    कात्तिक शुक्ल प्रतिपदा अर्थात तिहारको चौथो दिन नेवारी समुदायमा भने म्हः पूजा गरेर धुमधामका साथ मनाइन्छ । नेवारी समुदायका हरेक घर परिवारका सदस्यहरु भेला भएर म्हः पूजा गर्ने चलन रहेको छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । म्हः अर्थात आफ्नै शरिरको पूजा गर्ने अनौठो र रोचक पर्वका रुपमा यो पर्व रहिआएको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफैंलाई आराधना गरी शरीरभित्रको चेतनपुञ्जलाई पूजा गरिन्छ । समग्र देवी देवता, ऊर्जा शक्ति, विश्व–ब्रम्हाण्ड मानव शरीरभित्र नै रहेको विश्वास गरी यस्तो अभुतपूर्व शरिर नै परमेश्वर इश्वरको बासस्थल भएको विश्वास गरी आफ्नै शरिरको पूजा गरिन्छ । अर्को अर्थमा आफ्नो उद्धार आफैले मात्र गर्न सकिने म्हः पूजाको दार्शनिक पक्ष रहि आएको छ । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले तान्त्रिक विधि अनुसार म्हः पूजा गरिन्छ । म्हः पूजागर्दा अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।

     

    नेपाल सम्बत्

    आज नेपाल सम्बत् समेत फेरिने भएकोले नेपाल सम्बत् अनुसारको नयाँ वर्ष पनि मनाइन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३५ वर्षअघि देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्बत् नै नेपाल संवत् हो । उक्त दिन आजै भएकोले नेपाल सम्बत् अनुसार नयाँ वर्ष मनाईन्छ । यस उपलक्ष्यमा ‘न्हू दँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्याली निकालिन्छ । नेपाल सम्बत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विशेषतः नेवार समुदायले मान्ने यो संवत नेपालको मौलिक सम्बत् पनि हो । तत्कालिन अवस्थामा भक्तपुरका राजा राघव देवको आदेश अनुसार सरकारी कार्यालहरुमा यो सम्बत् लागू गरिएको थियो भने पछि चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो । यो सम्बतको पहिलो दिन बिक्रम सम्बत् अनुसार कार्तिक शुक्ल पक्षका दिनमा पर्दछ । यो सम्बत् अनुसार एउटा औंसीबाट अर्को औंसीलाई एक चन्द्रमास गणना गरिएको छ । सोहि अनुसार १२ औंसीको एक वर्ष मानिएको छ, जस अनुसार ३५४ दिनको एकवर्ष हुन जान्छ । नेपाल सम्बत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । यो सम्बत् हाल आधिकारिक रूपमा प्रयोगमा नआए पनि नेपाल सरकारले निर्णय गरी मान्यता प्रदान गरेको छ । नेवार समुदायमा चैं यो सम्बत निकै प्रयोगमा रहेको छ ।