तिहारको मीठो व्यञ्जनः सेलरोटीदेखि फिनीसम्म - Chaitanya News
  • 2026-11-19
  • 11:37:59
  • बिहिबार,मंसिर ०४, २०८३
  • तिहारको मीठो व्यञ्जनः सेलरोटीदेखि फिनीसम्म

    तिहारको मीठो व्यञ्जनः सेलरोटीदेखि फिनीसम्म

     

     

    शरदीय ऋतुको दोस्रो ठूलो उत्सव तिहार केही दिनमा नै नेपालीले धुमधामका साथ मनाउँदै छन्। धनधान्यकी देवी लक्ष्मीको पूजा र दिदी–भाइबीचको भावनात्मक सम्बन्धको पर्वको रुपमा समेत मनाइने यो पर्व केही विशेष खानपान परिकार लिएर आउने गर्छ। केही विशेष परिकारहरु छन् जुन तिहारमा मात्रै पकाउने गरिन्छ र केही यस्ता परिकारहरु छन् जसले तिहारको माहोल लिएर आउँछ।

     

    तिहारको उमंगलाई झनै भव्य बनाउने खाद्य परिकारहरु हुन्, चिनी रोटी, फिनी रोटी, अनरसा, अर्सा र सेल। यी सदावहार परिकारहरू आफैँमा तिहारको पर्यायवाची बनिसकेका छन्। अर्थात् तिहार यस्ता मिष्ठान्नविना फिक्का हुन्छ।

     

    सेल रोटी

     

    सेल रोटी र यसको पाक् विधिबारे बेखर कमै होलान्। विशेषगरी पहाडी भेगको कुनैपनि यस्तो नेपाली घर नहोला जहाँ कहिलै सेल रोटी नपाकेको होस्। अझ तिहार मान्नेहरूको घरमा त सेल रोटी बिनाको तिहार असम्भव जस्तै हुन्छ। यहाँ सेल रोटीको पाक् विधिबारे उल्लेख गरिएको छ।

     

    परिकारः सेल रोटी

     

    आवश्यक सामग्री

     

    – एक किलो चामलको पिठोे

     

    – ताई तावा एउटा

     

    – एक लिटर तोरी वा सनफ्लावरको तेल

     

    – एक पाउ चिनी

     

    – ४ चम्चा घिउ

     

    बनाउने विधिः

     

    सेल रोटी बनाउनको लागि चामललाई केही समय भिजाएर वा सुख्खा कुटेर पिठो बनाउनु पर्छ। पिठो मसिनो खालको हुनु जरुरी छ। तयारी पिठोबाट राम्रो र स्वादिष्ट रोटी बनोस् भनेर घिउ र चिनी पनि मिसाउने गरिन्छ। सेल रोटी बनाउँदा चामलको पिठोमा आवश्यकता अनुसार दूध, तेल, नौनी, सुजी, मैदा लगायतका सामग्री पनि मिसाउने चलन छ। यी सामग्री नमिसाई पनि रोटी बनाउन सकिन्छ। सेल तातो तेलमा पकाउने परिकार हो। तर कताकतै तातो घिउमा पनि सेल रोटी पकाउने गरिन्छ। रोटी बनाउन योग्य पीठो बाक्लो तर लेदो जस्तो तरल अवस्थामा हुन्छ। त्यसलाई तातो तेल वा घिउमा गोलो बनाएर पकाइन्छ। यसरी तयार पारिएको सेल रोटीलाई सामान्य कोठाको तापक्रममा २० दिनसम्म भण्डारण गर्न सकिन्छ। सेल रोटी प्रायः घरबाट टाढा रहेका पारिवारिक सदस्यहरूलाई विशेष उपहारको रूपमा पठाउने र पूजामा प्रसादको रूपमा प्रयोग गर्ने गरिन्छ।

     

    फिनी रोटीः

     

    फिनी रोटी पनि तिहारमा बनाइने विशिष्ट खाद्य परिकार हो। यो कतै मैदाको पिठोको र कतै चामलको पिठोबाट बनाउने गरिन्छ। बालुवाटारमा फिनी रोटी बनाउने सन्तोषी खड्का चामल र मैदाको पिठो दुवैबाट फिनी रोटी बनाउन सकिने बताउँछिन्।  मैदाको पिठोबाट फिनी रोटी बनाउँदा मैदाको पिठोलाई घ्युमा मिसाएर बनाइन्छ । तर धेरैतिर फिनी रोटी चामलको पिठोबाटै बनाइन्छ। फिनी रोटी बनाउने तरिका यस्तो छ।

     

    परिकारः फिनी रोटी

     

    आवश्यक सामग्रीः

     

    –एक केजी चामलको मसिनो पिठो

     

    –४–५ चम्चा घिउ

     

    –मिसाउनको लागि थोरै मैदाको पिठो

     

    –एक लिटर तोरीको तेल

     

    बनाउने तरिका

     

    परिवारको संख्या अनुसार आवश्यक चामलको रोटीलाई मुछ्ने। रोटी बनाउन प्रयोग गरिने पिठोको डल्लालाई मजाले माड्ने। माडिएको मैदा÷चामलको पिठोको डल्लो नरम भएपछि फिनी बनाउन तयार हुन्छ। तयार भएको पिठोलाई एकछिन त्यत्तिकै छाड्ने ता कि पिठो नरम होस्। फिनी बनाउन पिठो निकै मुलायम हुन आवश्यक छ। त्यसको लागि गाउँघरमा ओदाल नामक रुखको जरालाई चामल कुट्ने बेलामा नै तयार पार्ने गरिन्छ। कुट्नुभन्दा पहिले चामललाई एक घण्टा पानीमा भिजाएर राख्नुपर्छ। छुट्याइएको चामलको पिठोको अनुपात अनुसार घिउमा मुछ्ने। खड्काका अनुसार घिउ र चामलको पिठो मुछेर तयार पारिएको पेस्टलाई नेपाली भाषामा ‘साँठो’ भनिन्छ। तयार पारिएको मैदाको पिठोलाई राम्रोसँग बेल्ने। बेलेको रोटीमा घ्यु र चामलको पिठोबाट तयार पारिएको ‘साँठो’ लाई राम्रोसँग लगाइन्छ। बेलिएको रोटीमा बराबरी साँठो लगाएपछि बिस्तारै रोल गर्ने ९बेर्ने०। गोलाकार बेलिएको पिठोलाई स–सानो डल्ला पारेर काट्ने। काटिएको पिठोको डल्लालाई बेल्ने, बेलेर तयार गरिएको रोटी पत्र–पत्र भएर छुटिन्छ । यसरी फिनी रोटी तयार हुन्छ ।

     

    अनरसा

     

    अनरसा पनि तिहारमा बनाइने एक स्वादिष्ट परिकार हो। तिहारको संकेत गर्ने परिकारमध्ये अनरसा पनि एक हो। यो स्वादिष्ट र स्वास्थ्यवद्र्धक पनि हुन्छ। यो परिकार पकाउनको लागि निम्न सामग्री आवश्यक पर्छ ।

     

    परिकारः अनरसा

     

    आवश्यक सामग्री

     

    –मिलमा मसिनो गरी पिँधिएको चामलको पिठो

     

    –एक केजी घिउ वा एक प्याकेट तेल

     

    –आवश्यक मात्रामा सेतो तिल, कागतीको रस, र जिराको धुलो

     

    –आवश्यक मात्रामा चिनी

     

    –किसमिस र नरिवलको टुक्रा

     

    बनाउने विधि

     

    अनरसा बनाउको लागि एउटा गहिरो भाँडोमा चामलको पिठोलाई मुछ्ने। पिठो मुछ्नभन्दा पहिले पिठोमा चिनी, घिउ लगायत सामग्री राखेर पिठोलाई डल्लो पार्ने। चिनी र घिउ पिठो मुछिसकेपछि पनि पिठोमा राख्न सकिन्छ। पिठो मुछिसकेपछि चिनी राख्नु परेमा एउटा भाँडोमा पिठोलाई फिँजाएर राख्नुपर्छ र त्यसको माथिमाथि आवश्यक चिनी राख्नुपर्छ। त्यसलाई ६÷७ घण्टा त्यत्तिकै छाड्दा चिनी पग्लिएर पिठोको बीचबीचमा पुग्छ। यसपछि यही पिठोबाट अनरसा बनाउन पनि सकिन्छ तर यसलाई २४ घण्टासम्म राख्ने हो भने अझै राम्रो रोटी बनाउन सकिन्छ।

     

    पिठो तयार भएपछि सानासाना डल्ला बनाएर त्यसलाई रोटीको आकारमा ढाल्नुपर्छ। त्यसको एकातर्फ तिल, किसमिस नरिवल जिराको धुलो आदि मसलाहरु छर्किने गरिन्छ। ती सबै तयार पारेपछि त्यो काँचो पिठोलाई तातो तेलमा बसालिन्छ। यसमा ध्यान दिनुपर्ने कुरा भनेको अनरसालाई फर्काएर पकाइँदैन। एकातर्फ राखेपछि नपाकेसम्म जस्ताको त्यस्तै छाड्ने र पछि रातो भएपछि त्यसलाई निकालेपछि स्वादिष्ट अनरसा तयार हुन्छ।