सरकारले सामाजिक सञ्जाल प्रयोगबारे निर्देशिका जारी गरेको छ । सामाजिक सञ्जालको प्रयोगबाट आपराधिक गतिविधि बढ्न थालेपछि सरकारले त्यसलाई नियन्त्रण र नियमन गर्न भन्दै निर्देशिका ल्याएको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्देशिका स्वीकृत गरी जारी गरेको हो । मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै निर्देशिका कार्यान्वयनमा आएको छ ।
निर्देशिकाले फेसबुक, टिकटक, युट्युब, ट्विटर (एक्स)लगायतका सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्नुका साथै अन्य ओटीटी प्लेटफर्मलाई पनि नेपालमा दर्ता हुनुपर्ने भनेको छ ।
सामाजिक सञ्जालबाट के गर्नुहुँदैन ?
१. बेनामे वा छद्मभेषी पहिचान (फेक आईडी) सिर्जना गर्न ।
२. बेनामे वा छद्मभेषी पहिचान (फेक आईडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी शेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) शेयर गर्ने वा टिप्पणी (कमेन्ट) व्यक्त गर्न वा कल गर्न ।
३. कुनै समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेसा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्वीरर शेयर गर्ने एवम् ट्रोल बनाई प्रकाशन र प्रसारण गर्न ।
४. बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न ।
५. अरूलाई होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्वीर, ट्रोल बनाई घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच वा हेट स्पीच मानिने कार्य गर्न (हेट स्पीच भन्नाले पोस्ट, शेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रने जस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्वीर, भिडियोलाई सम्झनुपर्छ) ।
६. डिजिटल माध्यमको प्रयोगबाट कुनै व्यक्तिको तस्वीर विकृत रुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न ।
७. सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न ।
८. अश्लील शब्द, तस्वीर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न ।
९. बालबालिकालाई हानि पु¥याउने सामग्री तथा बालयौन शोषण, यौन दुर्व्यवहार, देह व्यापारजस्ता निषेधित क्रियाकलापलाई प्रोत्साहन गर्न ।
१०. मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न ।
११. साइबर बुलिङ मानिने कार्य गर्न, (स्पष्टीकरणः साइबर बुलिङ भन्नाले प्रविधिको प्रयोगमार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने, धम्क्याउने, हैरान पार्ने, गालीगलौच गर्ने, गलत सूचना स्प्रेषण गर्ने जस्ता कार्य सम्झनुपर्छ) ।
१२. लागुऔषध सेवनको प्रोत्साहन तथा कारोबार गर्न, गराउन ।
१३. जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्न ।
१४. आतंकवादसम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्न ।
१५. सामाजिक सञ्जाल प्रयोग गरी कसैको आईडी तथा सूचना ह्याक गर्न ।
१६. सामाजिक सञ्जाल प्रयोग गरी फिसिङ, इम्पोस्टरजस्ता कार्य गर्न ।
१७. बीभत्स तस्वीर, भिडियो कुनै सन्दर्भबिना नै पोस्ट वा शेयर गर्न ।
१८. प्रचलित कानुनले निषेध गरेका वस्तुहरूको विज्ञापन तथा कारोबार गर्न ।
१९. प्रचलित कानुनले निषेध गरेका क्रियाकलापहरू नक्कल गर्न तथा शेयर गर्न ।
यी क्रियाकलाप गरेमा निर्देशिकाले कारबाही गर्ने व्यवस्था गरेको छ ।