एमाले अध्यक्ष ओली भन्छन्- प्रचण्डकै कारण संसद् विघटन गर्नुपर्‍यो - Chaitanya News
  • 2026-04-22
  • 10:40:35
  • बुधबार,बैशाख ०९, २०८३
  • एमाले अध्यक्ष ओली भन्छन्- प्रचण्डकै कारण संसद् विघटन गर्नुपर्‍यो

    एमाले अध्यक्ष ओली भन्छन्- प्रचण्डकै कारण संसद् विघटन गर्नुपर्‍यो

    पोखरा- नेकपा एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गर्नुपरेको दाबी गरेका छन्। सोमबार पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डले जनादेशको अनादर गर्दा संसद् विघटन गर्नु परेको आरोप लगाए ।

    माओवादी र आफूहरूले मिलेर संयुक्त घोषणापत्र ल्याएको र प्रचण्डले त्यसलाई अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बनेको ओलीको दाबी छ । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले अदालत पुगेर सरकार खोस्ने, बनाउने काम गरेकाले संविधानको धज्जी उडाएको बताए।

    ‘मलाई संविधान मासेको आरोप लगाइएको छ। तर, संविधान मास्ने काम शेरबहादुरजीकै नेतृत्वमा भयो,’ उनले भने। गठबन्धनले सर्भेका नाममा एमाले कांग्रेसको हाराहारी मात्रै छ भनेर भ्रम फैलाएको ओलीको आरोप छ।

    ‘आगामी चुनावमा कांग्रेस र एमालेले हाराहारी सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको छ। विभिन्न सर्भेका नाममा यस्तो भ्रमपूर्ण प्रचार भइरहेको छ’, ओलीले भने।

    ओलीले आगामी चुनावमा एमाले कांग्रेसभन्दा धेरै अगाडि पुग्ने दाबी गरे। एमालेले एकल बहुमत ल्याएर बहुमतकै सरकार बनाउने उद्घोष उनले गरे।