स्थानीय सरकार जनताको सबै भन्दा नजिकको सरकार हो । नजिकको सरकार भएकै कारण स्थानीय सरकारसँग जनताका थुप्रै अपेक्षा हुन्छन । आफैमा पनि स्रोत र अधिकार सम्पन्न स्थानीय तहका जनप्रतिनिधिले चाहेमा नतिजा देखिने गरि काम गर्न सक्छन । कतिपय पालिकाले जनअपेक्षा अनुसार काम पनि गरिरहेका छन् । कतिपय पालिकाका जनप्रतिनिधि भने विवादित पनि बनेका छन । कुन पालिकाले कसरी काम गरिरहेका छन र त्यहाका जनताको अपेक्षा के छ ? भनेर चैतन्य खबरले जनप्रतिनिधिहरुसँग बहस गरिरहेको छ । सोही अनुरुप चैतन्य खबरका लागि बाजुराको बुढीनन्दा नगरपालिका प्रमुख जनक कुमार बोहोरासँग निर्मला कडायतले गरेको कुराकानीको सम्पादित अंश–
तपाईँले जनप्रतिनिधि भएर आइसकेपछि के–के काम गर्नुभयो ?
म बुढीनन्दा नगरपालिका प्रमुख भएर आइसकेपछि थुप्रै कामहरू भएका छन् । पहिलो त हाम्रोमा खानेपानीको ठूलो समस्या थियो । त्यो खानेपानीको समस्यालाई समधान गरेँ । दोस्रो विद्युत थिएन मोबाईल चार्ज गर्न पनि समस्या थियो, हामी आइसकेपछि त्यो विद्युतलाई पनि नियमित बनाएका छौं । यता नेटवर्क थिएन फोनमा कुराकानी गर्न धेरै समस्या थियो हामीले त्यो समस्यालाई पनि समाधान गरेका छौं । यो सँगै शिक्षा क्षेत्रमा पहिला अत्यन्तै व्यवस्था गरिएको थियो अहिले हामी आएपछि सरकारी विद्यालयहरू विद्यालयको रुपमा मात्रै सीमित थिए । त्यहाँ शिक्षकहरू आउने हाजिर लगाउने हिँड्ने स्थिति थियो, त्यसलाई पनि हामीले सुधार गरेर त्यहाँका भत्केका बिग्रका कुराहरूलाई पहिलो नम्बरमा राखेर सबै विद्यालयको अनुगमन गरेर हामीले काम गरिरहेका छौं ।
यो सँगै शिक्षामा हामीले युवा रोजगार कार्यक्रम पनि सुरु गर्यौं । यतिमात्रै नभएर हामीले नियमित शिक्षक र शिक्षिकाहरूसँग, व्यवस्थापन अध्यक्षसँग अन्तरक्रिया कार्यक्रम अगाडि बढायौं । अनि खेलकुद, सङ्गीत, नृत्य, विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई पनि हामीले मध्यनजर गरेर त्यो अभियान अगाडी बढायौं । अर्को त्यहाँका विपन्न जनताहरुलाई केन्द्रमा राखेर १० जनालाई फ्रि ट्युसनको व्यवस्था गर्यौं । समग्रमा भन्नुपर्दा जनताका आधारभूत आवश्यकताका आधारमा हामी अगाडी बढिरहेका छौं ।
तपाईँको पालिकाको प्रमुख समस्याहरू के–के हुन् ?
मान्छे नपढी, शिक्षित नभए धेरै कुरामा समस्या हुन्छ र हाम्रो पालिकामा समस्या शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि आदि कुराहरूको समस्या छ ।
तपाईँको पूर्ण कार्यकालको योजना के छन् ?
मेरो पूर्ण कार्यकालको योजना मुख्य त्यहाँ भएको गरिबिलाई अन्त्य गर्ने छ । बुढीनन्दा नगरपालिका धेरै नै रमणिय ठाउँ हो, यताबाट रारा पनि नजिक छ, बडीमालिका पनि नजिक छ, बुढीनन्दा आफँैमा एउटा धार्मिक स्थल हो, यो कारणले गर्दा पर्यटकीय रुपमा यसलाई माथि उठाउने मेरो योजना छ । आधारभूत शिक्षा, स्वास्थ्यबाट कसैलाई पनि बञ्चित नगराउने, मेरो पूर्ण कार्यकालको योजना रहेको छ ।
तपाईंको पालिकामा कर्मचारीको प्रयाप्तता, अप्रयाप्तता के छ ?
हाम्रो पालिकामा कर्मचारीको प्रयाप्तता छैन । स्थायी कर्मचारी लोकसेवा आयोगले पठाउनु पर्ने हो, तर पठाइरहेको छैन । तर पनि हामीले जसो तसो गरेर सेवाहरू दिइरहेका छौं । राज्यले प्रयाप्त मात्रामा कर्मचारीको व्यवस्थापन गर्नुपथ्र्यो तर गर्न सकेको छैन यसले गर्दा हामीलाई काम गर्न निकै समस्या भइरहेको छ ।
अहिले स्थानीय सरकार र पालिकामा भ्रष्टाचार बढ्दो छ भन्ने गुनासो सुनिन्छ, यसको नियन्त्रणका लागि यहाँ कति सजग हुनुहुन्छ ?
यो विषयमा चाहिँ मा एकदमै सजग छु । भ्रष्टाचार शून्य हुनुपर्छ भनेर मैले आफँैले अभियान चलाएको छु । म आफू पनि त्यो काममा लाग्दिनँ र अरु कर्मचारीले भ्रष्टाचार गरेमा पनि त्यसलाई राख्दिनँ, त्यही अनुरुप हामीले विभिन्न योजनाहरू लिएर विभिन्न कामहरूमा भ्रष्टाचार नहोस् भन्नेमा एकदमै सजग छौँ । विगतको भन्दा हामीले धेरै कुरामा सुधार गर्दै आइरहेका छौं । अलिकति मेहेनत गर्नुपर्ने विषय नै यही बनेको छ ।
पालिकाका सबै वडामा विकासको सामानुपातिक नीतिलाई कसरी अवलम्बन गरिरहनु भएको छ ?
हाम्रो पलिकामा विकासको सामानुपातिक नीति एकदमै समानुपातिक छ । बजेट बाँडफाँड गर्दा पनि हामीले सम्पूर्ण डाटालाई केलाएर त्यसैको आधारमा स्रोत साधनहरूलाई वितरण गरिरहेका छौं ।
स्थानीय सरकारलाई प्रदेश र केन्द्र सरकारको कस्तो सहयोग छ ? त्यसका अलवा यहाँहरू प्रदेश र केन्द्र सरकारसँग अपेक्षा वा कुनै सुझाव छ ?
स्थानीय सरकार र केन्द्र सरकारबाट हामीलाई केही सहयोग छैन । हामीलाई माग्ने बनाएको छ । प्रदेश सरकारमा गएर माग्ने, संघीय सरकारसँग माग्ने बनाएको छ ।
हामीसँग स्रोत साधन हुँदैन । अहिले पनि मान्छेहरू गाउँबाट सहरमा बसाइँ सर्छन् । गाउँ घरमा अवसर छैन, कुनै उद्योग धन्दाहरूको विकास हुन सकिरहेको छैन । संघीय सरकार र केन्द्र सरकारले त्यतातिर ध्यान दिएको छैन । हाम्रो पालिकामा अहिले जम्मा ४२ करोड बजेट आएको छ । त्यसमा पनि ८–९ करोड त हामीले कर्मचारीलाई तलब खुवाउनमा नै सकिन्छ । अनि बाँकी बचेको रकमले हामीले विकास गर्ने हो । विकास गर्नुपर्ने गाउँघरमा हुन्छ तर बजेट बढी सहरहरूमा दिन्छ । यसले गर्दा हामीलाई धेरै नैे समस्या भइरहेको छ । हामीले चाहेको विकास गर्न सकिरहेका छेनौ । हामीलाई झोला लिएर माग्ने बनाएको छ, यो कुरामा सुधार होस् ।