काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको स्पष्ट पारेको छ। पूर्व प्रमुख निर्वाचन आयुक्तहरूसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको कडीको रूपमा रहेको आचारसंहिता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको बताए।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको स्पष्ट पारेको छ। पूर्व प्रमुख निर्वाचन आयुक्तहरूसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको कडीको रूपमा रहेको आचारसंहिता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको बताए।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले विगतका निर्वाचनमा आचारसंहिता उल्लंघन भएको, धाँदली भएको, मतपेटिका हराएको लगायत घटनाहरूको दृष्टान्त दिँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएपछि निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
जब कडाइका साथ आचारसंहिता लागू गर्ने भनेर लाग्छौँ त्यसपछि आचारसंहिता उल्लंघन गर्ने हाँसीहाँसी हिँड्ने गरेकोसमेत उनले बताए। उनले भने, ‘आचारसंहिता ड्राफ्ट गर्ने बेला राजनीतिक दलको उच्च स्तरको व्यक्तित्वहरू अगाडि राखेर हामी सामूहिक छलफलमा बस्छौँ। त्यो बेलामा आयोगलाई ‘तपाईँहरू आचारसंहिता बनाउन त अघि आउनुहुन्छ, तर लागू नै गराउन सक्नुहुन्न’ भन्ने पहिलो आरोप आउँछ। आचारसंहिता यस पटक कडाइका साथ लागू गर्छौँ भन्दा ‘हुन्छ’ भन्नुहुन्छ। जब हामीले कडाइका साथ आचारसंहिता लागू गर्ने भनेर लाग्छौँ, त्यो बेलामा आचारसंहिता उल्लंघन गर्ने हाँसिहाँसी हिँड्नुहुन्छ। अर्को आरोप विजयी उम्मेदवारले त कडाइसँग परिपालना गर्यो आचारसंहिता, गरायो भन्छन्। पराजितले ‘आयोगले त आचारसंहिता नै लागू गर्न सकेन, फेरि खुट्टा कमायो’ भन्ने आरोप खेप्नुपरेको छ।’
उनले राजनैतिक दल र सरोकारवालाहरूसँगको परामर्शका आधारमा आयोगले आचारसंहिता बनाएकाले पालना गरेर सबैले इमान्दारीता देखाउनुपर्नेमा पनि जोड दिए। आचारसंहिता राजनैतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्तावेज भएको र त्यसमा राजनैतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिबद्धता जनाएकाले प्रतिबद्धताप्रति दलहरू पनि जिम्मेवार हुनुपर्ने तर्क उनको छ। उनले निर्वाचन व्यवस्थापनको विषय कठिन भए पनि आफूहरूले चुनौती नभई अवसरको रूपमा लिएको उल्लेख गर्दै आचारसंहिता लागू गर्ने कुरामा आयोग सधैँ निष्पक्ष र निष्ठापूर्वक उभिने स्पष्ट पारे।
दलहरू र आयोग बीचको संयुक्त दस्ताबेज हो आचारसंहिता। कानुन सबैलाई पढ्ने फुर्सद नहुन सक्छ तर आचारसंहिता निर्वाचनको मुखमा सबैले पढ्नुहुन्छ, पढेपछि मैले यो गर्न हुने रहेछ र यो गर्नु नहुने रहेछ भनेर निर्वाचनमा होमिने सबै पक्षहरू जानकार हुनुहुन्छ। हामीले सबैलाई जानकारी गराएर सबैको सहमतिमा आचारसंहिता कार्यान्वयन गर्ने हो, आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आयोग आफ्नो निष्ठामा प्रतिबद्ध छ,’ उनले भने, ‘निष्पक्षता र आयोगको निष्ठामाथि काहीँबाट शंका,उपशंका नगरे हुन्छ। कडाइकासाथ आचारसंहिता परिपालन गर्नुपर्छ। ताकि निर्वाचन, स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा यस पटक भयो है अर्थात् सबैले उन्मुक्त वातावरणमा निर्वाचन सम्पन्न भयो भन्ने कुरा महसुस गर्न सकुन्। देश र विदेशले पनि यसलाई विश्वास गर्न सकोस् भन्ने हेतुले हामी आचारसंहिता कार्यान्वयनको पक्षमा छौँ।’
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले स्वतन्त्र, निष्पक्ष, भयरहित र सर्वस्वीकार्य निर्वाचन गराउने सवालमा आयोग कटिबद्ध रहेको र सोही अनुसार आफ्ना काम कारबाही अघि बढाएको बताए।