बाँकेको विकासका लागि मैले निरन्तर रुपमा पहल गरिरहन्छु : मन्त्री गहतराज - Chaitanya News
  • 2026-04-25
  • 16:47:08
  • शनिबार,बैशाख १२, २०८३
  • बाँकेको विकासका लागि मैले निरन्तर रुपमा पहल गरिरहन्छु : मन्त्री गहतराज

    बाँकेको विकासका लागि मैले निरन्तर रुपमा पहल गरिरहन्छु : मन्त्री गहतराज

    कोहलपुर– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बाँकेको विकासका लागि आफूले नियमित रुपमा कदम उठाइरहेको बताएका छन्। राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुशुममा आयोजित चुनावी सभामा बोल्दै मन्त्री गहतराजले विगतदेखि नै बाँकेको विकासका लागि आवाज उठाइरहेको र आगामी दिनमा समेत निरन्तर पहल गरिरहने बताएका हुन्।

    आफ्नो ५ वर्षे कार्यकालमा पटक–पटक सदनमा राप्तीसोनारीको विकासका लागि कुरा उठाउँदै आएको बताउँदै उनले विकट क्षेत्र भनेर चिनिने राप्तीसोनारी र नरैनापुरलाई विकासको मूलधारमा ल्याउन सफल भएको उल्लेख गरे।

    बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री गहतराजले जनतालाई एकताको भाव दिन गठबन्धन गरिएको बताउँदै बाँकी रहेका कामहरु पूरा गर्न जनताले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई उत्याधिक मतले विजयी गराउन आग्रह गरे।

    कार्यक्रमा बोल्दै बाँके क्षेत्र १ (क) लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी ९नमुना०ले नरैनापुर र राप्तीसोनारीको विकासका लागि थुप्रै कामहरु अगाडि बढाइएको बताउँदै पछिल्लो ५ वर्षको अवधिमा विकासका कामहरुले गति लिएको बताइन्। “हामीले केही कामहरु सुरु गरेका छौँ, ती कामहरुलाई पुर्णता दिन गठबन्धनले जित्नुपर्छ,” उनले भनिन्।

    कार्यक्रममा समानुपातिक उम्मेदवार संगीता थारु, उम्मेदवार रामकृष्ण विक, वाम–लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिका संयोजक नरेन्द्र न्यौपाने, सहसंयोजक पोषण केसी, माओवादी केन्द्रकी स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदीलगायतले आफ्ना भनाइ राखेका थिए।