काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशव्यापी चुनाव प्रचारका लागि सहज होस् भनेर आफूले गोरखा– २ रोजेको बताएका छन्। खुमलटारस्थित निवासमा वाम–लोकतान्त्रिक खेमाका बुद्धिजीवीहरुसँगको कुराकानीमा प्रचण्डले सो कुरा बताएका हुन्।
आफूले गोरखा निर्वाचन क्षेत्र रोजेपछि षडयन्त्र गर्न खोज्नेहरु रनभुल्लमा परेको उनले बताए। ‘देशव्यापी रुपमा प्रचार गर्न सहज होस् भनेर गोरखा– २ गएको हुँ, यसलाई मैले सामान्य रुपमा नै लिएको थिएँ’ उनले थपे, ‘तर, कतिपयका लागि यो निर्णय ठूलै ‘सरप्राइज’ भएछ। त्यसपछि षडयन्त्र गर्नेहरु के गर्ने, कसो गर्ने भन्ने रनभुल्लमा परेका छन्।’चितवन– ३ मा विजयी हुने स्थिति भएपनि गोर्खा जाँदा देशव्यापी चुनाव प्रचारका लागि समय निकाल्न सकिने भएकाले गोरखा– २ छनोट गरेको बताए।
‘यसपटकपनि चितवन– ३ बाट विजय हासिल गर्थें। तर, अलिक बढी मिहिनेत गर्नुपथ्र्यो’ उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा बढी खटिँदा देशव्यापी प्रचार अभियानका लागि समय निकाल्न कठिन हुने भएकाले गोरखा गएको हुँ।’
प्रचण्डका भनाईमा, उनले चितवन– ३ मा प्रतिस्पर्धा गरेको भए एमाले, राप्रपा, नेपाली कांग्रेसको एउटा समूहबीच तालमेल हुने सम्भावना थियो। यसका बाबजुदपनि विजय हासिल हुनेमा उनी विश्वस्त थिए।
‘एकजना विरुद्ध सबै शक्ति एकजुट भएपछि प्रतिस्पर्धा अलिक जटिल त हुने नै भयो। तर, तीब्र प्रतिस्पर्धाका बीच मैले नै जित निकाल्थेँ’ उनले थपे, ‘गठबन्धनको एक प्रमुख नेता र पार्टी अध्यक्षको हैसियतले अन्य क्षेत्रमा पनि चुनाव प्रचार गर्न जानुपर्यो नि१ त्यसैले ‘पोलिटिकल मोविलाइजेसन’ का लागिपनि गोर्खा– २ रोजेँ।’