काठमाडौँ– आज (बुधबार) विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव नयाँ दिल्लीमा हुँदै छ।
मंगलबार भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ। नयाँ क्षेत्रीय निर्देशक पदमा नेपाल र बंगलादेशले प्रतिस्पर्धामा गर्दैछन्।
नेपालको उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद छिन्।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, मालदिभ्स, इन्डोनेसिया, उत्तर कोरिया, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य राष्ट्र रहेका छन्।
यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरू पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन्। उनीहरूले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्ने गर्दछन्। तर, यस पटक म्यानमानरले सहभागिता जनाउने छैन। म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यस पटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाउने भएको हो। त्यसैले दक्षिण–पूर्वी एसिया १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गर्दैछन्।
निर्देशक पदका लागि नेपाल बलियो दाबेदार हो। यो किन पनि भने नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यले हेल्थ सेक्टरमा लामो अनुभव संगालेका र डब्ल्यूएचओमा लामो समयदेखि कार्यरत छन्। बंगलादेशको उम्मेदवार भन्दा नेपालको उम्मेदवार बढी अनुभवी र योग्य भए पनि उनलाई जिताउन नेपालले गरेको कमजोर कूटनीतिक लबिइङले उक्त निर्वाचनमा प्रभाव पार्ने अधिकारीहरूले धारणा छ।
बंगलादेशकी प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले बंगलादेशले कूटनीतिक लबिइङ तीव्र पारेको छ। भारतमा हुन गइरहेको निर्देशक चयनमा भारतले नेपाललाई मत दिने वा बङ्गलादेशलाई स्पष्ट नपारे पनि भारत बंगलादेशको पक्षमा उभिन सक्ने आँकलन भइरहेको छ।
यसैबीच १४ जना विश्व प्रतिष्ठित स्वास्थ्य विशेषज्ञहरूले संयुक्त विज्ञप्ति मार्फत डब्ल्यूएचओको सेरो सदस्य राष्ट्रहरूलाई क्षेत्रीय निर्देशक चयन गर्दा राजनीतिभन्दा टाढा रहन अपिल गरेका छन्। संस्थालाई अनुभवी, प्राविधिक ज्ञानको गहिराई र पूर्वाग्रहविना सबैलाई समान रूपमा सेवा दिन सक्ने तटस्थ क्षेत्रीय निर्देशक चाहिने उनीहरूले धारणा राखेका छन्।
संकीर्ण राजनीतिबाट जोगिएर सबै देशका लागि काम गर्न सक्ने सक्षम,द्विपक्षीय वाचा र राजनीतिक स्वार्थभन्दा बाहिर जान सक्ने, डब्ल्यूएचओलाई बलियो बनाउन, तटस्थता र राम्रो व्यवस्थापनको जनादेश पूरा गर्न सक्ने सक्षम व्यक्ति चयन गर्नुपर्ने विशेषज्ञहरूले माग गरेका छन्। उनीहरूले सक्षम नेतृत्व चयन गर्न नेपालको पक्षमा मतदान गर्न सहभागी राष्ट्रहरूलाई आव्हान गरेका छन्।
Post Views: 56