चैतन्य खबरले विभिन्न पालिका प्रमुख तथा प्रशासकीय अधिकृतहरूसँग संवाद गर्दै आएको छ। स्थानीय सरकारको रूपमा रहेका पालिकाहरूले कसरी सेवा प्रवाह गरिरहेका छन् र संघीयताको सफल अभ्यास कसरी भइरहेको छ? यी र यस्तै पेरिफेरिमा रहेर हामीले संवाद गर्दै आएका छौं। आजको चैतन्यका लागि निर्मला कडायतले इलामको देउमाई नगरपालिका प्रमुख सूर्यप्रसाद पोख्ररेलसँग संवाद गरेकी छन्।
तपाईंले जनप्रतिनिधि भएर आइसकेपछि के–के काम गनुभयो?
मैले जनप्रतिनिधि भएर आइसकेपछि शिक्षा, स्वास्थ्य, खाने पानी, बटोघाटो लगायत विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु। स्थानीय सरकारसँग बजेट अभाव हुन्छ। त्यस कारण हामीले अपेक्षाकृत रूपमा काम गर्न सकेका छैनौं। पालिकाको स्रोत अत्यन्त न्यून भएका कारण र संघीय सरकार तथा प्रदेश सरकारबाट आउने अनुदान पनि प्रयाप्त नआएका कारण सोचे जस्तो काम गर्न सकिएको छैन।
तपाईंको पालिकाका प्रमुख समस्या के–के हुन्?
मैलेमाथि पनि भने हाम्रो पालिकाका प्रमुख समस्या भनेको सडक, शिक्षा, स्वास्थ्य, खाने पानी, कृषि, उद्योग आदिमा छ। सडक नभएका कारण प्रर्यटनलाई सबै ठाउँमा पुर्याउन सकिरहेका छैनौं। हाम्रोमा थुप्रै पर्यटकीय स्थल भए पनि सडक अभावका कारण सबै ठाउँमा पुगाउन सकेका छैनौं। शिक्षामा गुणस्तरीयता भनेर हामीले सुरु गरेका छौं। विद्यालय भवन न्यून छन्। भएका भवन पनि पुराना छन्। नयाँ प्रवृद्धि युक्त भवन निर्माण गर्न सकिरहेका छैनौं। स्वास्थ्यमा उत्तिकै समस्या छ। एउटा हस्पिटल भर्खर बन्दै छ। त्यो पनि एकदम सुस्त गतिमा बन्दै छ। हाम्रो ग्रामिण बस्ती मिलेर बनेको पालिका हो। त्यसैले अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन।
जनअपेक्षाका उच्चतम प्राथमिकताका विषय के–के हुन्?
हामी जनप्रतिनिधिहरूले समग्र देउमाई नगरपालिकालाई विकास गर्ने हिसावले पूर्वाधारलाई, शिक्षालाई, स्वास्थ्यलाई, कृषिलाईं, रोजगारिलाईं उच्च प्राथमिकतामा राखेका छौं। तर, पनि विभिन्न समस्याले जनपेक्षा अनुसार काम गर्न नसकेकाले यी कुरा चाडो भइदिए हुन्थ्यो भन्ने जनताको चाहना रहेको छ।
तपाईंको पूर्ण कार्यकालको योजना के छन्?
हामीले सबै वडाहरूमा सडक पुर्याएका छौं। ती सडक वर्सातको समयमा बाढी-पहिरोले अवरुद्ध हुन्छन्। १२ महिना नै चल्न सक्ने सडक बनाउनु हाम्रो पहिलो प्राथमिकतामा छ। पालिकाको आफ्नै भवन थिएन। हामी भाडाको घरबाट सेवा दिइरहेका थियौं। यही आर्थिक वर्षभित्र भवन सम्पन्न गर्ने लक्ष्य छ। त्यसपछि सेवाप्रवाहमा सहजता हुने विश्वास लिएका छौं। पालिकामा अस्पताल थिएन। अब डेढ वर्षभित्र अस्पताल बनिसक्ने छ। विद्युत पनि पालिकाभर लगभग पुर्याइ सकेको अवस्था छ। बाकि रहेका क्षेत्रमा पनि केही समयमा पुर्याउने योजना छ।
तपाईंको पालिकामा कर्मचारीको प्रयाप्तता, अप्रयाप्तता के छ?
हाम्रो पालिकामा कर्मचारीको प्रयाप्तता नै छ।
अहिले स्थानीय सरकार र पालिकामा भ्रष्टाचार बढ्दो छ भन्ने गुनासो सुनिन्छ, यसको नियन्त्रणका लागि यहाँ कति सजग हुनुहुन्छ?
अहिले देशैभरि अनियमतिताका कुराहरू सुनिन्छन्। त्यसमा पनि स्थानीय तहमा भ्रष्टाचार बढी हुन्छ भन्ने जनगुनासो हामीले पनि सुन्दै आएको हो। हामी सजगताका साथ काम गरिरहेका छौं। हामीलाई महालेखाबाट जे निर्देशन प्राप्त भएको छ सोही अनुसार काम गरिरहेका छौं। ऐन र नियमको परिधिमा रहेर काम गरिरहेकाले हामीलाई डर छैन।
स्थानीय सरकारलाई प्रदेश र केन्द्र सरकारको कस्तो सहयोग छ? त्यसका अलवा यहाँहरूका प्रदेश र केन्द्र सरकारसँग अपेक्षा वा कुनै सुझब छन्?
अपेक्षा गर्नेमात्रै हो। संघीय सरकारले संघीयताको भावना र मर्म अनुसारको काम गरेको छैन। हाम्रा अधिकार संकुचित पारिएका छन्। संघले संघीयताको मर्म नबुझे झैँ गरेको छ। तीन तहका सरकार भनेर संविधानमा व्यवस्था गरिएको छ। तर स्थानीय सरकारहरूले आफ्ना ऐन बनाएर सभाबाट पास गरेका कामहरूलाई समेत माथिको महालेखाबाट गर्दा बन्देज गर्ने अवस्था छ। जसका कारण धेरै समस्या छ। संघीय सरकारले प्रदेशमा दिने बजेट १५–१६ प्रतिशत भन्दा बढी छैन। जुन निकै न्यून हो। संघले बजेटको दायर पनि बढाउनु पर्छ।