जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदीहरू जोगाउनुपर्छ : एन्टोनियो गुटरेस - Chaitanya News
  • 2026-11-19
  • 11:42:04
  • बिहिबार,मंसिर ०४, २०८३
  • जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदीहरू जोगाउनुपर्छ : एन्टोनियो गुटरेस

    जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदीहरू जोगाउनुपर्छ : एन्टोनियो गुटरेस

    पोखरा– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताएका छन।

    अन्नपूर्ण बेसक्याम्पबाट फर्केपछि पोखरामा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले यी अद्भुत हिमालहरू र यी अद्भुत हिमनदीहरू जोगाउनुपर्छ। जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ।

    जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै उनले यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए। ‘जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका छन्। धेरै समुदायमा जुन गहिरो रूपमा परेको नकारात्मक असर छ यसलाई मैले अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्नेछु,’ उनी अघि भन्छन्, ‘पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि धेरै कोषहरू पनि छन्। यी कोषहरू क्षति कम गर्न र पीडित जनताको फाइदाका लागि बनाइएका हुन्। त्यसको उपयोग हुनुपर्छ।

    उनले जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको बताए। ‘मैले भ्रमण गरेका र देखेका ठाउँहरूमा मान्छेहरू जलवायु परिवर्तनको कारणले धेरै पीडामा छन्,’ गुटरेसले थपे, ‘वास्तवमै हिमाली क्षेत्रको अवस्था जटिल छ। गुटेरेस पोखराबाट लुम्बिनी उडेका छन्।

    उनले पोखरामा रहँदा पुम्दीकोट स्थित विशाल शिव मन्दिरको अवलोकन गरे भने फेवातालमा डुङ्गा सयर गरे। उनको प्रमुख जोड जलवायु परिवर्तन र हिमालमा देखिएको असरमा केन्द्रित थियो। पत्रकार सम्मेलनमा पनि उनले जलवायु परिवर्तनबाहेक अन्य विषय बोलेनन्।