काठमाडौं– नेपालस्थित युरोपेली युनियन (इयू) को डेलिगेजनकी कार्यवाहक प्रमुख जोएले हिभोनेट र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालबीच भेटवार्ता भएको छ।
भेटवार्तामा हिभोनेटले नगरप्रमुख ढकालसंँगको भेटवार्तामा कर्णाली प्रदेशमा सञ्चालन गरेका परियोजना, भावी योजना, महिला सशक्तीकरण र समावेशीकरण लगायतका विषयमा कुराकानी छलफल गरेकी छन्।
हिभोनेटले कर्णाली प्रदेशमा महिला फुटबललाई प्रोत्साहन गर्न, महिला खेलाडीको सहभागिता बढाउन इयूले लगानी गर्न गैरसरकारी संस्थामार्फत सहकार्यको सुरुवात भएको जानकारी गराएकी थिइन्। महिलालाई फुटबलको तालिम दिने, वृत्तिविकासका लागि लगानी बढाइनेछ,’ उनले भनिन,‘यसले महिलाको आत्मविश्वास बढाउनेछ, महिलालाई खेलकूदतर्फ आर्कषण बढाउने विश्वास लिएका छौं।’
भेटवार्तामा नगर प्रमुख ढकालले नगरपालिकाले महिला सशक्तीकरण र महिला स्वास्थ्य तथा सुरक्षाका क्षेत्रमा सञ्चालन गरेका क्रियाकलापबारे जानकारी गराएकी थिइन्।
नगरपालिकाले महिलालाई सीपमुलक तालिम, स्वास्थ्य संस्थाबाट निःशुल्क सेनिटरी प्याड वितरण, निःशुल्क गर्भ जाँच, सुत्केरी सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको र यसले महिलाको स्वास्थ्य र आयआर्जनमा ठूलो टेवा पुगेको भण्डारीले बताइन्।
हिभोनेटले नेपाल सरकारले सुरक्षालाई कारण देखाएर महिलालाई वैदेशिक रोजगारमा जान रोक लगाएको विषयमा पनि चासो व्यक्त गरिन्। नेपाल युरोपेली युनियन चलचित्र महोत्सव उद्घाटनका सिलसिलामा शनिबार सुर्खेत आएकी थिइन्।