काठमाडौं– त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ।
यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे। कप्तान रोहित पौडेल ४७ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे।
आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन्। कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट भए।
यूएईका मोहम्मद जवादुल्लाहले २, अकिफ राजा र जहूर खानले एकरएक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।
यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ –४५ रन बनाए। यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए। निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे।
नेपालका सोमपाल कामी र अविनाश बोहोराले २–२ विकेट लिए भने करण केसी र गुल्शन झाले एकरएक विकेट लिए।
यस शृङ्खलामा नेपाल यो खेलअघि नै फाइनलमा प्रवेश गरिसकेको थियो। हङकङसमेत सम्मिलित शृङखलामा नेपालले सतप्रतिशत जितसहित फाइनलसम्मको यात्रा तय गरेको हो।