काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अनुशासन आयोगका अध्यक्ष टंक राईले वर्तमान व्यवस्था खारेज गर्न खोज्ने प्रतिगामी तत्वलाई आगामी निर्वाचनमा परास्त नगरे देश विकास नहुने बताएका छन्। खोटाङ बजारमा बाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्र्दै पूर्वसांसदसमेत रहेका अध्यक्ष राईले दुई पटक संसद् विघटन गर्ने नेकपा एमाले राजा चाहने शक्तिसँग मिलेर चुनावमा उठेकाले परास्त गर्नै पर्ने बताए।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लगायतका सुन्दर व्यवस्थालाई समाप्त पार्नेगरी एमाले अध्यक्ष केपी ओली लागेकाले त्यसको विरुद्धमा बनेको सत्ता गठबन्धनलाई जिताउनु पर्ने राईले बताए। दुई तिहाइको सरकार भएको बेला संघीय सरकार र प्रदेश सरकार ध्वस्त पारेर पार्टीलाई समेत दुई चिरा पार्नेलाई भोट कसले दिन्छ? एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै राईले भने, जसले जनताले दिएको अधिकार सुरक्षा गर्न सक्दैन, उसलाई भोट माग्ने अधिकार छैन।
कांग्रेस नेता तथा पूर्वपर्यटन राज्यमन्त्री सर्वधन राईले वर्तमान व्यवस्थाको खिलापमा एमाले लागेकाले उसलाई जिताउन नहुने बताए। नेपाली जनताले आन्दोलन र संघर्ष गरेर आफ्नो ज्यानको आहुतिसमेत दिएर प्राप्त गरेको व्यवस्था माथि ओली सरकारले धज्जी उडायो राईले भने, त्यसैले प्रतिगामी शक्तिलाई एक भएर परास्त गर्नु पर्छ।
एमालेको एकलौटी सरकार हुँदा लोकतन्त्रको धज्जी उडाउँदै संसद् विघटन गर्ने, लोकतान्त्रिक शक्तिलाई सिध्याउने खेल खेलेकाले त्यस्तो शक्तिलाई हराउन बाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्ने नेता राईले भनाइ थियो।
नेकपा (माओवादी केन्द्र)का पोलिट्ब्युरो सदस्य तथा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रामकुमार राई ‘पासाङ’ले बाम–लोकतान्त्रिक गठबन्धनलाई नजिताई जिल्लाको विकास नहुने बताए। प्रदेश १ को खानेपानी, सिचाइँ तथा उर्जामन्त्री समेत रहेका राईले जिल्लाको विकास, समृद्धिका लागि बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन जिल्लाबासीलाई आग्रह गरे।
प्रदेशसभा (ख)का उम्मेदवार एवम् कांग्रेस १ नं. प्रदेशका महामन्त्री भूपेन्द्र राईले बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यले मात्र देशमा परिवर्तन सम्भव भएको स्मरण गरे। देशमा भएका परिवर्तन एमाले अध्यक्ष ओलीले ध्वस्त पार्न खाजेकाले पुनः बाम–लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ छ।