१. सूचनाको हक भनेको के हो? सूचनाको हकको महत्त्व उल्लेख गर्नुहोस्। २+३=५
सरकारका काम कारवाही खुला र पारदर्शी बनाई सरकारप्रति आम नागरिकको विश्वासमा अभिवृद्धि
सूचनाको हक
– कानूनले गोप्य राख्नुपर्ने भनी तोकिएका बाहेकका अन्य विषयमा नागरिकले सूसुचित हुन पाउनु सूचनाको हक हो।सूचनाको हक आफैँमा महत्त्वपूर्ण विषय हो।
– सूचनाको हक मौलिक हक अन्तर्गत पर्दछ।
– सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले सूचनाको हक भन्नाले सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्त्वको सूचना माग्ने र पाउने अधिकार सम्झनु पर्दछ र सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री वा सो निकायको काम कारवाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तो लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने, सार्वजनिक महत्त्वको निर्माण कार्य भइरहेको स्थलको भ्रमण र अवलोकन गर्ने, कुनै सामग्रीको प्रमाणित नमुना लिन वा कुनैपनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्र मार्फत प्राप्त गर्ने अधिकार समेतलाई जनाउँछ भनी परिभाषित गरेको छ।
सूचनाको हकको महत्त्व
– सरकारका काम कारवाही खुला र पारदर्शी बनाई सरकारप्रति आम नागरिकको विश्वासमा अभिवृद्धि हुन्छ।
– सार्वजनिक महत्त्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाई प्रजातान्त्रिक अभ्यासमा बढोत्तरी गर्दछ।
– भ्रष्टाचार र अनियमितता रोक्न सहयोग गर्दछ।
– सार्वजनिक उत्तरदायित्व वृद्धि गराउँछ।
– सरकारी नीतिको प्रभावकारीता वृद्धि गर्दछ।
– सार्वजनिक निकायलाई गलत अफवाहबाट बचाउँछ।
– सार्वजनिक महत्त्वको सूचनामा आम नागरिकको पहुँच बढाउँछ।
– सार्वजनिक निकायलाई पृष्ठपोषण प्राप्त भई सेवाप्रवाहमा गुणस्तर कायम गर्न सघाउँछ।
२. सुशासन भन्नाले के वुझिन्छ ? यसका तत्वहरु उल्लेख गर्नुहोस्। २.५+२.५=५
सुशासन
राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो। यसलाई असल, कुशल र जनमुखी शासन भनेर पनि चिनिन्छ। शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणालीलाई समेत सुशासन भनिन्छ। सन् १९८९ मा विश्व बैंकले विकास परियोजना सञ्चालनका लागि यसको अवधारणा अगाडि ल्याएको हो। यो जनमुखी शासन व्यवस्था हो। नेपालको संविधानले पनि दिगो शान्ति, समृद्धि र सुशासनमा जोड दिएको छ।
सुशासनका तत्वहरू
– जनसहभागितामूलक शासन व्यवस्था,
– जनउत्तरदायी सरकार सञ्चालन,
– दण्डहीनताको अन्त्य र कानुनको परिपालना,
– नियम कानुनको पूर्ण परिपालना,
– कानुनमा आधारित शासन व्यवस्था,
– जवाफदेही शासन सञ्चालन,
– प्रशासनको सरलीकरण र निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता,
– शासन प्रक्रियामा पारदर्शिता अवलम्बन,
– समावेशितामा आधारित न्यायपूर्ण समाज निर्माणमा जोड,
– भ्रष्टाचाररहित समाजको परिकल्पना,
– वित्तीय जवाफदेहिता प्रवद्र्धन,
– स्वतन्त्र प्रेसको व्यवस्था।
यसरी, जनमुखी,पारदर्शी जनसहभागितामूलक,लोकलान्त्रिक शासन व्यवस्था नै सुशासन हो। यसले विकास, समृद्धि र जनसन्तुष्टिको अपेक्षा बोकेको हुन्छ। सुशासन कायम गर्न राज्य संयन्त्रका सबै अंगलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउँदै नागरिक चेतनाको विकास गर्नु आजको आवश्यकता हो।
३.सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा सार्वजनिक निकायको सूचना प्रवाह गर्न सूचना अधिकारी सम्बन्धी के व्यवस्था गरेको छ? सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने कार्यविधि उल्लेख गर्नुहोस्। २+३=५
सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा सूचना अधिकारीको व्यवस्था
सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा सूचना अधिकारीको व्यवस्था देहाय बमोजिम रहेको छ :
(१) सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनको लागि सूचना अधिकारीको व्यवस्था गर्नुपर्दछ।
(२) सूचना प्रवाह गर्ने प्रयोजनको लागि प्रमुखले आफ्नो कार्यालयमा रहेको सूचना नियमित रुपमा सूचना अधिकारीलाई उपलब्ध गराउनु पर्दछ।
(३) सार्वजनिक निकायले सूचना प्रवाह गर्ने प्रयोजनको निम्ति आवश्यकतानुसार सूचना शाखाको व्यवस्था गर्न सक्दछ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना प्राप्त गर्ने कार्यविधि देहाय बमोजिम रहेको छ :
(१) कुनै सूचना प्राप्त गर्न चाहने नेपाली नागरिकले त्यस्तो सूचना प्राप्त गर्नुपर्ने कारण खुलाई सम्बन्धित सूचना अधिकारी समक्ष निवेदन दिनु पर्दछ।
(२) निवेदन प्राप्त भएमा सूचना अधिकारीले तत्काल उपलब्ध गराउन सकिने प्रकृतिको सूचना भए तत्काल र तत्काल उपलब्ध गराउन नसकिने प्रकृतिको सूचना भए निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदकलाई सूचना उपलब्ध गराउनु पर्दछ।
(३) तत्काल सूचना उपलब्ध गराउन नसकिने भएमा सूचना अधिकारीले सोको कारण सहितको जानकारी तुरुन्त निवेदकलाई गराउनु पर्दछ।
(४) सूचना अधिकारीले कुनै व्यक्तिको जीउ–ज्यानको सुरक्षासँग सम्बन्धित सूचना माग गरेको रहेछ भने त्यस्तो सूचना माग गरेको चौबीस घण्टाभित्र निवेदकलाई उपलब्ध गराउनु पर्दछ।
(५) सूचना अधिकारीले निवेदकद्वारा माग भएको सूचना सम्भव भएसम्म माग भएको स्वरुपमा नै उपलब्ध गराउनु पर्दछ।
(६) निवेदकले माग गरेको स्वरुपमा सूचना उपलब्ध गराउँदा सूचनाको स्रोत बिग्रने, भत्कने वा नष्ट हुने सम्भावना भएमा सूचना अधिकारीले सोको कारण खोली उपयुक्त स्वरुपमा निवेदकलाई सूचना उपलब्ध गराउन सक्दछ।
(७) कुनै व्यक्तिले कुनै लिखत, सामग्री वा काम कारवाहीको अध्ययन वा अवलोकन गर्नको लागि निवेदन दिएको भए सूचना अधिकारीले निवेदकलाई त्यस्तो लिखत, सामग्री वा काम कारवाहीको अध्ययन वा अवलोकनको निमित्त मुनासिव समय उपलब्ध गराउन पर्दछ।
(८) प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदकले माग गरेको सूचना आफ्नो निकायसँग सम्बन्धित नदेखिएमा सूचना अधिकारीले सो कुराको जानकारी तुरुन्त निवेदकलाई दिनु पर्दछ।