हराउँदै दसैंमा चंगा उडाउने संस्कृति - Chaitanya News
  • 2026-11-19
  • 09:42:09
  • बिहिबार,मंसिर ०४, २०८३
  • हराउँदै दसैंमा चंगा उडाउने संस्कृति

    हराउँदै दसैंमा चंगा उडाउने संस्कृति

    काठमाडौं- दसैंका बेला चंगा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिन छोडेको छ। दसैंले घरआँगानी ढाकिसक्यो। तर, पहिले चङ्गा उडिरहेका देखिने आकास आजभोली रित्ता देखिन्छन्।

    दसैंको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चंगा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको हो।

    विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका वस्तीका आकाशमा चंगा उडाउँदा दसैंको रमझम बढाउने गरेकोमा अहिले त्यो देखिन छोडेको नयाँबानेश्वर बस्ने रमेश बोहराले बताए।

    ‘चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चंगा बनाएर कसले माथि पुर्‍याउने भन्दै अकाशमा उडाउँदा चाडपर्वको उमंग बढाउँथ्यो, अहिले त चंगा उडाउने गरेको देखिनै छोडयो’, उनले भने।

    खुला आकाशमा चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो। नयाँ पुस्तामाझ दसैंमा चंगा उडाउने संस्कृतिबारे जानकारी नै छैन। पुरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना-साना बालबालिकालाई दसैंका बेला चंगा बनाएर देखाउन थालिएको छ।

    खुला आकाशमा चंगा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो। मनोरञ्जन मात्रै नभई परिवारमा खुसी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गरेको सुदीप गैरे बताउँछन्।

    हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रूपमा चंगा उडाएर मनोरञ्जन लिने चलन कतै देखिँदैन। यस्ता पुराना संस्कृति लोप हुन पुगेका छन्। सहरमा मात्र नभएर गाउँका आकासमा पनि चङ्गा उड्न छोडेको उनी बताउँछन्।