आफ्नो हत्या षड्यन्त्रमा पाकिस्तानी प्रधानमन्त्री संलग्न रहेको पूर्व प्रधानमन्त्री इमरान खानको आरोप - Chaitanya News
  • 2026-04-25
  • 13:08:12
  • शनिबार,बैशाख १२, २०८३
  • आफ्नो हत्या षड्यन्त्रमा पाकिस्तानी प्रधानमन्त्री संलग्न रहेको पूर्व प्रधानमन्त्री इमरान खानको आरोप

    आफ्नो हत्या षड्यन्त्रमा पाकिस्तानी प्रधानमन्त्री संलग्न रहेको पूर्व प्रधानमन्त्री इमरान खानको आरोप

    काठमाडौं– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो हत्या गर्ने षड्यन्त्रमा वर्तमान प्रधानमन्त्रीको संलग्नता रहेको आरोप लगाएका छन्। हत्या प्रयासका क्रममा गोली लागेर अस्पतालमा रहेका खानले निको भएपछि यस्तो बताएका हुन्।

    अप्रिलमा अविश्वासको मतपछि प्रधानमन्त्रीको रूपमा उनको स्थानमा आएका प्रधानमन्त्री सेहबाज शरीफ, आन्तरिक मन्त्री राणा सनाउल्लाह र एक वरिष्ठ सेना कमाण्डर षड्यन्त्रमा संलग्न रहेको खानले शुक्रवार पत्रकारहरूलाई भनेका छन्।

    ‘यी तीन जनाले मेरो हत्या गर्ने निर्णय गरे,’ दुई बन्दुकधारीहरू संलग्न रहेको बताउँदै खानले बिहीवारको आक्रमणपछि पहिलो पटक सार्वजनिक रुपमा भने।

    सरकारले आफ्नो कुनै पनि संलग्नता अस्वीकार गरेको छ भने ‘धार्मिक अतिवाद’ले उत्तेजित बन्दुकधारीलाई हत्या प्रयासलाई दोष दिएको छ।

    पाकिस्तानी सेनाको मिडिया शाखाले आरोपलाई ‘निराधार र गैरजिम्मेवार’ भनेको छ।

    सेनाको इन्टर सर्भिसेस पब्लिक रिलेसन्स ९आइएसपीआर०ले एक विज्ञप्तिमा भनेको छ, ‘पाकिस्तान सरकारलाई यस विषयमा अनुसन्धान गर्न र संस्था र यसका अधिकारीहरूविरुद्ध कुनै प्रमाण बिना मानहानि र झूटा आरोपका लागि जिम्मेवार व्यक्तिहरूविरुद्ध कानुनी कारबाही गर्न अनुरोध गरिएको छ।’

    सनाउल्लाहले पनि आरोप अस्वीकार गर्दै गठबन्धन सरकारले स्वतन्त्र छानबिनको माग गरेको बताएका छन्। शरीफले गोलीबारीको निन्दा गर्दै छानबिनको आदेश पनि दिएका छन्।

    खानमाथि भएको आक्रमणका क्रममा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन्। अप्रिलमा खानको पतनपछि देशमा उत्पन्न राजनीतिक संकटलाई यस घटनाले झन बढावा दिएको छ।