काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ। मंगलबारदेखि सुरु भएको एनआरएनएको ११ औं महाधिवेसनमा आज नयाँ पदाधिकारी चयनका लागि मतदान हुन लागेको हो।
काठमाडौंमा भइरहेको महाधिवेसनमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ। विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको छ। अनलाइनबाट मतदान गर्नेले गएराति १२ बजेदेखि नै मतदान गरिरहेका छन्। उनीहरुले राति १२ बजेसम्म मतदान गर्न पाउने छन्।
एनआरएनको अध्यक्ष पदमा तीन जना उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदका लागि रुसबाट डा.बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, कतारबाट राजेन्द्रकुमार (आरके)शर्मा र अमेरिकाबाट रविना थापाले उमेदवारी दर्ता गराएका थिए।
तर, अन्तिम समयमा हिजो (बुधबार)साँझ रविना थापाले अर्का उमेदवा महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उमेदवारी फिर्ता लिएकी हुन्।
महासचिवका उमेदवार गौरीराज जोशीले भने, ‘विदेशमा रहनुभएका मतदाताले मतदान गरिरहनुभएको छ। उहाँहरुले आफ्नो विवेक प्रयोग गरिरहनुभएको छ। मैले सबै मतदातासँग फेरि पनि आफ्नो विवेक प्रयोग गरेर सही नेतृत्त्व चयन गर्नुहोस् भन्ने धारणा राखेको छु।’
४ हजार २२७ मतदाताले एक जना अध्यक्ष, एक महिला र एक युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्ष लगायत ७४ जना पदाधिकारी चयन गर्नेछन्। ६ जना उपाध्यक्षका लागि १८ जनाको उमेदवारी रहेको छ।