दशैँले हाम्रो घर आँगन ढाकिसकिएको छ। प्रत्येक अनुहारमा खुसीको उमङ्ग छाएको छ। बजार पसलहरूमा चहलपहल बढ्दो छ। मठ मन्दिरहरू सजिएका छन्। प्रदेशमा रहेका नेपालीहरू आफन्तसँग भेट हुने आशा लहरित गर्दै स्वदेश फर्किरहेका छन्।
सबैका ओठमा यसरी खुसी छाइरहँदा आकासिएको बजार महङ्गीले सामान किन्ने कुरा सोच्दा निराश तुल्याइदिन्छ। अरु त के सामान्य चिनी किन्न पनि मानिसले लाम बस्नु्पर्ने अवस्था सृजना भएको छ। नेपालीहरूको आय–आर्जन त्यति राम्रो छैन। दुई चार पैसा जोहो गर्दै दशैँमा खुसी खोज्नेहरू थुप्रै छन्। त्यसैले त सरकारले थापेको सुपथमूल्य पसलमा घण्टौँ लाइन लाग्न बाध्य छन् उपभोक्ता।
तापनि, उनीहरू सहज रूपमा सामान पाउन सकिरहेका छैनन्। बाहिर १३० देखि १७० प्रतिकेजीसम्म चिनीको कारोबार भइरहेको छ। यस्तो असहज अवस्थामा दुई रुपियाँ जोगिइला ठानेर चर्को घाम र महत्वपूर्ण समयको बेर्पवाह गर्दै चिनीको लाइनमा बसेर दशैँको खुसी खोज्न विवश छन् उपभोक्ता।
सरकार, सरकारजस्तो छैन। बजारमा कालोबजारी मौलाएको छ। उपभोक्ता ठगिन विवश छन्। तर, सरोकारवाला र सरकारी निकायको अनुगमन फितलो छ। दशैँमा व्यापारीले कालोबजारी गर्दै कमाउने अवसरको रुपमा लिँदा सरकार भने मुकदर्शक बनेको देखिन्छ।
उपभोग्य बस्तुमात्र होइन। जताततै त्यस्तै किसिमको कालोबजारी छ। यात्रुले बसमा सहज रुपमा टिकट पाउन सकेका छैन।
हवाइजहाजको टिकट मूल्य छोइनसक्नु छ। खसी च्याङ्ग्राको मूल्यले पनि आकाश नै छोएको छ। तेल, दाल, दलहन पनि किनिनसक्नु छ। केही दिन पहिले पेट्रोलियम पर्दाथको मूल्य घट्यो। तर घटेन अन्य चीजको मूल्य। पेट्रोलियम पर्दाथको मूल्य बढेको दोस्रो दिन थुप्रै चीजको मूल्य बढ्ने भए पनि मूल्य घट्दा अन्य सामानको मूल्य स्थिर नै रहन्छ। यसमा पनि सरकार मुकदर्शक नै बनेको देखिन्छ। आखिर कहिलेसम्म जनताले यस्तो सास्ती खेप्ने? र, अनधिकृत रुपमा बढेको महङ्गी नियन्त्रण कसले गर्ने?