कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँने - Chaitanya News
  • 2026-05-05
  • 02:46:45
  • सोमबार,बैशाख २१, २०८३
  • कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँने

    कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँने

    काठमाडौं– सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ।

    सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

    महाशाखा प्रमुख डा. विवेक कर्ण लालका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ। यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।

    आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ। बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो।

    यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिने डा.लालले जानकारी दिए।

    स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ।