धेरै मानिसलाई आफु सुत्नुपर्ने जति समय सुत्न नपाएको कुरा त जिउको थकानबाटै थाहा हुन्छ तर खासमा कति समयसम्म सुत्नुपर्ने हो भन्ने कुराको जानकारी भने हुँदैन। वास्तवमा कम सुत्नु वा आवश्यकता भन्दा बढि समयसम्म सुत्नु दुवै स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन्।
अमेरिकामा गरिएको एक अनुसन्धानले कुन उमेरको व्यक्ति कति समयसम्म सुत्नु आवश्यक हुन्छ ? भन्ने तथ्य पत्ता लगाएको छ।
अस्तव्यस्त तथा अनियमित जिवनशैली, मदिरापान, अत्यधिक कफी वा इनर्जी डि्रंक्सको सेवन यस्ता चिजहरु हुन् जसले तपाइँको दिनचर्यालाई प्रभावित गर्नसक्छ।
अमेरिकाको भर्जिनियास्थित एर्लिंगटनमा रहेको च्यारिटी नेसनल स्लिप फाउण्डेसनका अनुसार व्यक्तिको जिवनशैली उसको निद्राको आवश्यकता महसुस गर्ने आधार हो। मानिसको उमेर अनुसार उसका लागि कति निद्रा आवश्यक पर्छ भन्ने कुराको निर्धारण हुन्छ। व्यक्तिको उमेर अनुसार निद्राको समय यस्तो हुन्छ-
नवजान शिशु (जन्मदेखि ३ महिनासम्म) – नवजात शिशुलाई हरेक दिन १४ देखि १७ घण्टाको निद्रा आवश्यक पर्छ। यद्यपि ११ देखि १३ घण्टासम्म मस्तसँग निद्रा आएमा पनि पर्याप्त हुन्छ। नवजात शिशुलाई दिनमा १९ घण्टाभन्दा बढि सुताउनु राम्रो मानिँदैन।
शिशु (४ देखि ११ महिना)- शिशुका लागि दिनमा १२ देखि १५ घण्टाको निद्रा आवश्यक हुन्छ। यद्यपि घटीमा १० घण्टासम्म गहिरो निद्रा आएमा पनि पर्याप्त हुन्छ। शिशुहरुका लागि १८ घण्टाभन्दा बढि निद्रा राम्रो हुँदैन।
एक देखि दुइ वर्ष सम्मका बालबालिका- यो उमेरका बालबालिकाका लागि दिनमा ११ देखि १४ घण्टाको निद्रा आवश्यक हुन्छ। तर घटिमा ९ र बढिमा १६ घण्टाकेा सीमा भने कटाउनु लाभदायक मानिँदैन।
स्कुल जानुअघिको उमेर (३ देखि ५ वर्ष)- यो उमेरका बच्चाहरुका लागि दिनमा १० देखि १३ घण्टासम्मको निद्रा पर्याप्त हुन्छ। दिनमा ८ घण्टाभन्दा कम र १४ घण्टाभन्दा बढि समयसम्म सुताउँदा त्यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नसक्छ।
स्कुल जाने उमेरका बच्चाबच्ची (६ देखि १३ वर्ष)- यो उमेरका बच्चाहरुको लागि ९ देखि ११ घण्टासम्मको निद्रा आवश्यक हुन्छ। ७ घण्टाभन्दा कम र ११ घण्टाभन्दा बढि समयसम्मको निद्रा राम्रो हुँदैन।
किशोरावस्था (१४ देखि १७ वर्ष)- यो उमेरका किशोर किशोरीहरुको लागि दिनमा ८ देखि १० घण्टासम्मको निद्रा आवश्यक हुन्छ। दिनमा ७ घण्टाभन्दा कम सुत्नु वा ११ घण्टाभन्दा बढि सुत्नु फाइदाजनक हुँदैन।
युवा (१८ देखि २५ वर्ष)- यो उमेरका युवा युवतीहरु दिनमा ७ देखि ९ घण्टासम्म सुत्नु आवश्यक हुन्छ। ६ घण्टाभन्दा कम र ११ घण्टाभन्दा बढि सुत्नु भने लाभकारी हुँदैन। वयस्क-२६ देखि ६४ वर्ष)- यो उमेरका मानिसहरुका लागि दिनमा ७ देखि ९ घण्टासम्मकै निद्रा राम्रो मानिन्छ।
वृद्ध (६५ वर्ष माथि)- यो उमेरका मानिसहरु दिनमा ७-८ घण्टासम्म सुत्नु राम्रो हुन्छ। निद्राको समय ५ घण्टाभन्दा कम हुनु वा ९ घण्टाभन्दा बढि समयसम्म सुत्नु लाभदायक हुँदैन।