शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सन्तुलित भोजनको आवश्यकता पर्छ। मानिसको शारीरिक अवस्था एउटै हुँदैन, त्यसैले शारीरिक बनावटअनुसार खानुपर्ने हुन्छ। शरीरलाई आवश्यक पर्ने क्यालोरी, प्रोटिन, फ्याट र फाइबरको मात्रा पनि फरक–फरक हुन्छ। बिहानको समयमा हाम्रो शरीरको पाचन प्रणाली बढी सक्रिय हुन्छ। दिन ढल्दै गएपछि कम सक्रिय हुन्छ। त्यसकारण पनि ब्रेकफास्ट वा लन्च हेभी खानुपर्छ।
उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउनुपर्छ। त्यसपछि सीधै ब्रेकफास्ट गर्दा पनि हुन्छ। वा, फलफूल, ओट्स, चिउरा, दूध खाँदा पनि हुन्छ। कतिपयको चिया र बिस्कुट खाने बानी हुन्छ। बिस्कुटले स्वास्थ्यका लागि फाइदा गर्दैन। घरमै बनाएको रोटी र चिया खान सक्नुहुन्छ। सकेसम्म चिनी नखाँदै राम्रो हुन्छ।
ओखर, काजु, पिस्ता, बदाम, किसमिसजस्ता ड्राइफुड खाँदा पनि हुन्छ। यस्ता ड्राइफुडमा प्रोटिनको मात्रा धेरै हुन्छ, जुन शरीरका लागि अत्यावश्यक हुन्छ। सिजनल फलफूल खाँदा झन् राम्रो हुन्छ।
ब्रेकफास्ट गर्दा तीन–चार सय क्यालोरीसम्मको खाना खानुपर्छ। जसले कार्बोहाइड्रेट र प्रोटिनलाई सन्तुलनमा राख्न सकोस्। कार्बोहाइड्रेट मात्रै हुनु भएन। कतिपयको बिहानको समय रोटी र तरकारी खाने बानी हुन्छ। यतिले मात्रै मांसपेशीका लागि आवश्यक पर्ने प्रोटिनको मात्रा पुग्दैन। खाजा वा खानामा प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन मिलाउनुपर्छ। जस्तै– दाल, गेडागुडी, दूध, अन्डालगायतको मात्रा मिलाएर खानुपर्छ।