साँच्चै कविता के हो, यसको सामर्थ्यको आयतन कति हुन्छ? यसका मापकहरू के-के हुन्? के कविता फगत कविता मात्रै हुनसक्छन्? यो समाजको स्तर नाप्ने ब्यारोमिटर कविता बन्न सक्छन कि सक्दैनन्?
यस्तै सवालहरूको उत्तर बोक्ने एकमुष्ट दष्ताबेज हो कवि नवीन अभिलाषिकृत मौलामा बाँधिएको राँगो। सङ्ग्रह मैले तीन पटक पढेँ , निष्कर्ष यहिँ हो कि कविताको क्षेत्रमा यो समय सबैभन्दा उम्दा बौद्धिक चेत भएको सक्षम र क्रान्तीकारी नाम अरु कुनै छ भने त्यो नाम नवीन अभिलाषि नै हो। यो कविता सङ्ग्रह मौलो चुडाल्न खोजेका नबिनहरूको कथा हो। औसत कविताहरू लेख्न सकिने हैसियत जोसँग पनि हुनसक्छ। तर, काव्य संवेदनाले भरिएका कविता लेख्ने कवि नै वास्तविक कवि हुनसक्छन्। अभिलाषि साहित्यको दिग्विजयमा निस्केका घोडा हुन्। कसैले रोकेर नरोकिने, उसो त कवि आफूलाई मार्क्सवादी भन्न रुचाउँछन्।
प्युठानी माटोले जन्म दिएर दाङ जिल्लाका खोल्सा कुलेसा नापेका कवि नवीन अभिलाषि संघर्षका अनेक हुण्डरी खेपेका अद्भुत प्राणि हुन्। र, पो उनका कविताहरूले भूँइमान्छेलाई बोक्छन्,नव सामन्त र दलालहरूका तख्ता हल्लाउने आँट गरेका छन्। बोल्ने आँट गरेका छन् उनीहरूको आवाज जसको जिब्रो छ आवाज छैन, जसको पसिना छ मूल्य छैन।
कृति मौलामा बाँधेको राँगोमा जम्मा जम्मी ४८ वटा कविता छन्। कवितासँग्रहको गति शून्यको सुरुवातबाट प्रारम्भ भएर बक्यौता हिसाबमा पुगेपछि रोकिन्छ।
कवि पहिलो कविता शून्यको सुरुवातमै बोल्छन् भरखर उठेका र उठ्न खोजेकाहरूको आवाज भएर, जो वर्षौँदेखि दविएका थिए। दबाइएका थिए। जात व्यवस्थाको दलनमा हुँदा खाने र हुने खानेहरू बीचको गहिराइमा। यस्तो लाग्छ कविता नवीन अभिलाषिले लेखेका होइनन् बरु नवीन अभिलाषिद्वारा लेखिएका हुन्।
दस वर्षे शसस्त्र युद्धको बज्रपातले कलिलो उमेरमै पिताको अभिभावकत्व खोसिएका कवि पिता गुमाउनुको विक्षिप्ततालाई कवितामा मर्मश्पर्शीले ढँगले पोख्छन्। जुन अक्षरहरू पढ्दा मन भावविहल बनाउँछ। मन एकछिन थामिन्छ आखिर युद्ध जे र जसका लागि लडिएको थियो ती लक्ष्यहरू पूरा भए त।
पुँजिवादको कुरुपता सबैभन्दा बढी यदि कसैलाई अनुभूति हुन्छ भने घर छोडेहरूलाई हुन्छ, घर छोडेर सहर पस्नेहरू त्यहिँ कुरुपताभित्र विलिन हुन्छन्, बनाइन्छन्। त्यो केवल कसैको भौतिक विलिनतामात्र होइन त्यो त सपनाहरूको विलिनता हो, रंगिन जीवनको अपूर्णता पनि हो र विसर्जन हो आमाहरूको अपेक्षाहरूको। तेहि विलिनता र पलायनताको भाष्य बोल्छ कविता सहर पसेको छोरोले।
युद्ध जुन जहाँ र जहिल्यै होस् त्यो निर्मम नै हुन्छ। तर, युद्धका नाममा निहत्थामाथिको असमान्य धरपकट मानबताहिनमात्र होइन अक्षम्य अपराध हो। सरकार वा विद्रोहि पक्षको लागि आम मानिस एउटा पात्र वा साधन मात्र हुनसक्ला। तर, उ कसैको लागि सिँगो जीवन हो यहि भन्छ लोग्ने बेपत्ता पारिएकि भाउजुको कथाले। सरल शब्दहरूलाई उनेर शक्तिशाली कविताको रचना गर्नु कबिको विशेषता हो। यिनै विबिशेषताले समकालीन कवि र कविताको दुनियाँलाई प्रभावित पार्ने हैसियत राख्छन् उनी।
यस्तै जनताका जिवस्तरमा आमुल परिवर्तन ल्याउँछु भन्दै बन्दुक बोकेकाहरू नै सिमित सत्ताको सुगन्धको पछि लाग्दा जनतामा जागेको चरम निरासा र तेसको तीब्र असन्तोष देख्न सकिन्छ कविता आधी बाटोमा। वास्तविक क्रान्तीको भोक र जोश देखिन्छ सर्जकमा।
कवितामा घोत्लिरहेका पाठकहरूलाई कवितामै चुर्लुम डुबाउन सक्नु कविका अर्को बिशेषता हुन। कैयौंपटक पाठकले कवितामा आफूलाई पाउँछन्।
कवि कहिले सँसद भवन भित्र छिर्छन्। भण्डाफोर गर्छन् तेहि संसद भवनको जसलाई हामी भन्दै आएका छौं। खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो। कविको कलम बोल्छ।
सँसद एउटा बजार,
टाउकाहरूको बजार
किन्न र बेचिन तयारहरूको बजार
बिम्बहरूको बौद्धिक र चोटिलो प्रयोग कविता सङ्ग्रहमा भएका कविताहरूको अर्को ओजनदार पक्ष हो।
निरन्तर तपाईंको मगज हल्लाउने कविताहरूको फेरो समाईरहँदा शिर्ष कविताले तपाईलाई तृप्ती नदिन पनि सक्ला तर तपाईलाई आफूसँगै बगाउन सक्ने कविताहरूको शृङखला यहि रोकिँदैन। कविमा विद्रोहको चेत कति छ? विरुद्धमा कविता पढेपछि थाहा हुन्छ। उनी चुडाल्न चाहन्छन् दासताका जँजिरहरू, ज्वालामुखी भएर विस्फोट हुन आह्वान गर्छन सामाजिक रूपले उत्पिडनको वर्गभित्र दबिरहेकाहरूलाई।
हामीले टेकिरहेको एक चिम्टी यो माटो हाम्रो हो,
फेरिरहेको यो एकमुट्ठी श्वास हाम्रो हो ,
देखिरहेको यो एकटुक्रा आकाश हाम्रै हो ,
र यो आवाज हाम्रै हो ,
चुडालौँ
यो दासताको दाम्लो घाँटीहरूबाट
जात व्यवस्थाको बारेमा थोरै मात्र सोच्नु हुन्छ भने पनि तपाईंभित्र आँधि ल्याउने ल्याकत राख्छ कविता शुद्रको प्रश्नले।
शुद्रको प्रश्न फगत एक कविता मात्रै होइन यो त सदियौँ देखि (अ)मानवले मानवमाथी लादिएको व्यवस्थाविरुद्धको आवाज हो। कविता यसरी बोल्छ
को जन्मेको छ नाम लिएर यहाँ ?
र सँसारमा ठेगाना बोकेर को आएको छ ?
तर त्यो को हो ?
जसले मेरो नाम मैलाई नसोधी राख्यो
र सदियौँ देखि दास बनायो।
अभिशप्त बनाउने एउटा सत्य घटना
कमलरीहरूमाथी साहु महाजनहरूले गरिने यौनशोषणको
एक प्रतिनिधि पात्र बुझौना थारु,
जो जमिन्दारको रगत बोकेर जिइरहेकी हुन्छिन् ताकि भोलि तेहि रगत लड्नेछ तेहि शोषकका विरुद्धमा। तर, त्यो प्रतिज्ञा नवजात लासको कुटुरोसँगै विलिन भएर जान्छ नभेटिएको चिहान पढिरहँदा तपाईंलाई बिझाउँछ यो कविताले।
कवि यो दृष्टिकोणमा अविचलित छन् कि जबसम्म समाजमा वर्ग छ तबसम्म शोषण छ र यहि वर्गिय समाजमा कवि देखाइरहेछन् आफ्नै वर्गप्रतिको प्रेम।
वक्यौता हिसाव:
कि कचाकच काटिनेछ हामीलाई
र हाम्रै लासको मन्च उठाएर भाका सारिनेछ
कि
थुत्नेछौँ हामीले सिँहासनबाट र बर्षौँदेखिको
हिसाब चुक्ता गर्नेछौँ।
तर
मन्जुर छैन अब,
आफ्नै काँचो रगतले आर्जेको भूगोलमा
आफै
अनागरिक बन्न।
एउटा कवितामै इतिहासकै यति ठूलो विनिर्माणको उदघोष! सामाजिक रूपान्तरणको अनुराग र दायित्व बोध।
यो कसरी हुन सक्छ? यहि त हो अभिलाषिका कविताहरूको खास सुगन्ध। किनकि उनले बुझेका छन धुलो हुनुको कुल्चाई।
सत्तरीको दशकमा लेखिएका अधिकांश कविता सङ्ग्रहहरू कपि पेष्ट छन तर बौद्धिक टाटपल्टाई भोगिरहेको यो वर्तमानमा बागि लेखक हुन नवीन।
कवि भन्छन् यो सँग्रह उनको बितेको ७ बर्षको दस्ताबेज हो तर गुदी कुरो यति मात्र होइन सङ्ग्रह मौलामा बाँधिएको राँगो विभेदको लामो कालखण्डको माथिको एक प्रहार हो, कथित व्यवस्था विरुद्धको एक झिल्को हो र आफ्नै जिन्दगी सँगको आन्दोलन पनि।
कबिको कल्पनाहरू निजि हुनसक्छन् तर उसको सृजना कहिलै निजी हुनसक्दैन यसलाई यसो पनि भनौं सृजना तबसम्म सर्जकको मात्र हुन्छ जबसम्म पाठकमाझ आउँदैन, पाठकको माझ आएपछि त्यो सबैको हुन्छ। जसरी यो कृति अब हाम्रो भएको छ।