बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा - Chaitanya News
  • 2026-11-19
  • 08:47:47
  • बिहिबार,मंसिर ०४, २०८३
  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा

    मोरङ- सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १ सय ४० जना चिकित्सकले वृत्ति विकासको माग गर्दै सामूहिक राजीनामा दिएका छन्।

    विगत ७ वर्षदेखि बढुवा रोकिएको जनाउँदै आन्दोलनमा रहेका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए।

    सहप्राध्यापक डा. रिमालले चिकित्सकहरूको मागप्रति मन्त्री बस्नेत अनुदार देखिएपछि बुधबार राजीनामा दिएको बताए।

    प्रतिष्ठानका पदाधिकारीबाट आफूहरूको मागप्रति सुनुवाइ नभएपछि आन्दोलनरत १७७ जना चिकित्सक मन्त्री बस्नेतलाई जानकारी गराउन काठमाडौंमा गएको उनको भनाइ छ। १७७ मध्ये १४० जनाले राजीनामा दिएका हुन्।

    विगत ७ वर्षदेखि बढुवा प्रक्रिया नभएको, प्रतिष्ठानमा दरबन्दी रिक्त रहे पनि सुनुवाइ नभएको र विगत २ वर्षदेखि ५० भन्दा बढी दक्ष चिकित्सकले प्रतिष्ठान छाड्दै हिँडेकाले राजीनामा दिएको चिकित्सकहरूले बताए।

    उनीहरूले विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सकको अभाव भएर प्रतिष्ठानको पठनपाठनमा असर परेको बारेमा मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराएका थिए।