इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री साउद आफैं जाँदै - Chaitanya News
  • 2026-11-19
  • 09:42:18
  • बिहिबार,मंसिर ०४, २०८३
  • इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री साउद आफैं जाँदै

    इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री साउद आफैं जाँदै

    काठमाडौं– इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन्।

    नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तय भएको छ।

    इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबारदेखि सुरु गरेको रकेट आक्रमण अहिले दोहोर युद्धमा परिणत भएको छ। हमासको आक्रमणमा परेका विद्यार्थीहरू नेपालका त्रिभुव विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ प्रोग्रामअन्तर्गत इजरायल पुगेका थिए।

    उक्त क्षेत्रमा तनाव बढ्दै गएपछि नेपाल सरकारको समन्वयमा इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारेको छ। दूतावासका अनुसार गाजासँगको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई पनि थप अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ।

    नेपाली दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ।

    हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तिब्र पारिएको नेपाली दूतावासले जनाएको छ।

    सरकारले इजरायलबाट नेपाल फर्किन चाहनेहरूका लागि अनलाइनमार्फत रजिष्ट्रेसन फर्म खुला गरेर विवरण संकलन गरिरहेको छ। नेपाली दूतावासका अनुसार हालसम्म करिब चार सय नेपाली नागरिकले नेपाल फर्किन चाहेका छन्।

    तर शनिबारदेखि त्रासदीपूर्ण वातावरणमा आफू बसिरहे पनि नेपाल सरकारले समयमै नेपाल फिर्ता लिन नसकेको गुनासो नेपाली विद्यार्थीहरूको छ।

    इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हवाईजहाज पुग्नेबित्तिकै उनीहरूको नेपाल फिर्ताको सुरु हुने जनाएको छ।