मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-05-05
  • 02:47:35
  • सोमबार,बैशाख २१, २०८३
  • मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

    मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन्। आज विश्व मानसिक स्वास्थ्य दविसका अबसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

    यस्तै उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने समेत बताए।

    प्रधानमन्त्री दाहालले मानसिक रोग पनि अन्य शारीरिक रोग जस्तै मानेर बिरामीलाई भेदभाव नगरी खुलेर कुरा गर्न सक्ने वातावरण मिलाउनुपर्ने दायित्व सबैको भएको बताए।

    उनले भने, ‘हामीले मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ। त्यसैले, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ।’

    मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले थपे, ‘वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गर्न अन्य देशहरूसँग समन्वय गर्न आवश्यक छ।’

    उनले नेपालमा दसमध्ये एक जना मानसिक समस्यासँग बाँचिरहेका र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे।

    प्रधानमन्त्री दाहालले समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैङ्गिक भेदभाव, अपेक्षाअनुरूपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिक रूपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको बताए।

    यस्ता प्रचलनहरू अन्यायपूर्ण र संविधानप्रदत्त मौलिक अधिकारविरुद्ध रहेको पिन उनले बताए।

    उनले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गरेका छन् ।