नेपाल टेलिकमको विकासक्रम संक्षिप्तमा - Chaitanya News
  • 2026-11-19
  • 08:39:31
  • बिहिबार,मंसिर ०४, २०८३
  • नेपाल टेलिकमको विकासक्रम संक्षिप्तमा

    नेपाल टेलिकमको विकासक्रम संक्षिप्तमा

    नेपाल टेलिकम ९१.४९% सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक हो। यसको स्थापना २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते यो नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो। २०६१ बैशाखबाट यसलाई नेपाल टेलिकम भन्न थालिएको थियो। यसले देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन र जिएसएम र सिडीएमए जस्ता मोबाइल सेवा प्रदान गर्ने गरेको छ। टेलिकमले इन्टरनेट सेवामा डायल–अप आइएसडीएन लिज्ड एडीएसएल इन्टरनेट र स्काई डाटा मार्फत वायरलेस इन्टरनेट प्रदान गर्ने गर्दछ।

    बैङ्क तथा विभिन्न निकायहरूलाई तथ्याङ्क आदान प्रदान गर्न लिज्ड सर्किटको सेवा समेत टेलिकमले दिने गर्दछ। २०६४ फागुनमा सर्वसाधारणका लागि पनि शेयर बिक्री गर्न खुला गरेको यो कम्पनीको जारी पूँजी १५ अर्ब तथा चालू पूँजी २२ अर्ब रूपैयाँ रहेको छ। यस कम्पनीमा हाल करिब ३,९१२ कर्मचारी कार्यरत छन्। हरेक वर्ष माघ २२ गते नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सव मनाउने गर्दछ।

    नेपाल टेलिकम आइएसडिएन र लिज्ड लाइन सेवाको नेपालमा एक मात्र प्रदायक हो। सन् २००५ मा नेपालको दूरसञ्चार उद्योगमा एनसेल (पहिले मेरो मोबाइलको रूपमा चिनिने) को प्रवेश पछि यो जीएसएम मोबाइल सेवाको मात्र प्रदायक बन्नबाट चुकेको थियो। ५,४०० भन्दा बढी कर्मचारीहरूसँग यो नेपालको सबैभन्दा ठूलो निगम हो। देशको यसको विभिन्न भागहरूमा कुल २६२ टेलिफोन विनियम कार्यलयहरू छन् जसले ६०३,२९१ पीएसटीएन लाइनहरूमा यसले सेवा पु¥याएको छ। यसले ५० लाख भन्दा बढी जीएसएम सेलुलर फोनहरू र १० लाख भन्दा बढी सीडीएमए फोन लाइनहरूमा सेवा दिइरहेको छ।

    हालैको एक डाटा अनुसार, यसका ल्यान्डलाइन, जीएसएम मोबाइल, सीडीएमए र इन्टरनेट सेवा गरी १ करोड भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्। नेपाल टेलिकमले सन् २०१७ जनवरी १ बाट ४ जी एलटिइ सेवा शुरु गरेको थियो। हाल नेपालको ६६५ बटा स्थानीय तहहरूमा यो सेवा पुगिसकेको छ ।

    वि.सं. १९७० मा काठमाडौँमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी हो। अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै दूरसञ्चार सेवा विस्तारको पहिलो खुड्किलो हो। वि.सं. १९७१ मा काठमाडौँ र रक्सौलबीच ओपन वायर लाइनको स्थापना भएपछि पहिलो चोटी ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो। वि.सं. १९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो। वि.सं. १९९२ मा काठमाडौँमा २५ लाइनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलिफोन सेवाको श्रीगणेश भयो। यसबाट मात्र सार्वजनिक रूपमा टेलिफोन सेवा उपलब्ध भएको मान्नुपर्छ। श्री ३ मोहन शमशेरका पालामा वि.सं. २००५ सालमा नेपालमा मोहन आकाशवाणी नामले आकाशवाणी सेवा शुरु भएको हो। यसको कार्यालयलाई आकाशवाणी हेड अफिस भनिन्थ्यो।

    सेवाको शुरुवात २००७ सालमा प्रजातन्त्रको उदय भएपछि देशका ६ वटा मुख्य स्थानहरूमा एच.एफ.उपकरण स्थापना भएपछि भएको हो। २०१६ सालमा तत्कालिक टेलिफोन हेड अफिस र आकाशवाणी हेड अफिसलाई एकै ठाउँमा गाभी निर्माण, यातायात र सञ्चार मन्त्रालयअन्तर्गत दूरसञ्चार विभागको स्थापना भएको थियो। यस विभागलाई २०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरिएको थियो। राष्ट्रिय एकताको सुदृढीकरण तथा सन्तुलित आर्थिक विकासको निमित्त आवश्यक पूर्वाधार तयार गर्नुका साथै उपलब्ध दूरसञ्चार सेवा सर्वसाधारणमा सरल, सुगम एवं सुपथरूपमा अधिराज्यका दुर्गम स्थानमा समेत उपलब्ध गराउने उद्देश्य लिई सञ्चार संस्थान ऐन, २०२८ अन्तरगत नेपाल दूर सञ्चार संस्थानको स्थापना २०३२ साल असार १ गते भएको थियो। यस संस्थानलाई नेपाल सरकार (तत्कालिन श्री ५ को सरकार) को पूर्ण स्वामित्वमा राखिएको थियो।