च्यार्खुरीको चुचुरोमा - Chaitanya News
  • 2026-04-30
  • 18:24:21
  • बिहिबार,बैशाख १७, २०८३
  • छोबाङ ठिलेले भनेका थिए- “ठ्याक्कै पाँच घण्टा भए पुग्छ।”

    उनले नै यसो भनेपछि मैले नपत्याउने कुरो पनि आएन। दावा–लाक्पा आइस् अर्थात् ‘दालाइस’ अर्थात् ‘छुबिछु’ सम्म हिजै आइसकिएको हुनाले अब मेरालागि पनि यो मार्ग नयाँ थिएन। ‘दालाइस’भन्दा अझ माथिबाट ल्याइएका पोलिथिन पाइपहरूले क्यान्जिनका लागि खानेपानी बोकिरहेका छन् भन्ने थाहा पाएपछि त मलाई पनि झन् परिचित भएजस्तो लाग्याथ्यो- उसबेला।

    मैले हिमाली भेगको हिँडाइको सामान्य सिद्घान्त ‘प्रत्येक पाँच मिनट माइनस एक मिनट’ अर्थात् जति जति माथि पुग्दै जाइन्छ, प्रत्येक पाँच मिनेट हिँड्ने र एक मिनेट रोकिने’ हिसाबले हेर्दा पनि हामी बाहिरियाहरूलाई समेत ६ घण्टाभन्दा बढी समय लाग्ने देखिएन। त्यहीँमाथि छोवाङ ठिले लाङटाङ गाउँकै बासिन्दा र क्यान्जिनकै ‘होटल भ्यू पोइन्ट’का संचालक समेत भएकाले उनको जानकारीमाथि शंका गर्ने कुनै ठाउँ नै भएन।

    हामीले पनि विश्वास ग¥यौं र हिँड्यौं। हिमाली चुचुरामा पुग्न विश्वास गरेर मात्र पुग्दैन, हिँड्नु पनि पर्छ। अहिलेका ‘पंगुम् लङ्घयते गिरिम्’ गराउने भगवान भनेका शेर्पाहरू नै हुन् र ती पनि अहिले मैसँग हिँडिरहेका छन्।

    र, शेर्पाहरू पनि हिँडेपछि मात्रै चुचुरोमा पुग्छन्।

    हामी हिँड्यौं, हिँडिरह्यौं र हिँड्यौं मात्र। बाटो ठाडो उकालो थिएन- तर उँचाइका कारणले दम फुल्दै गएको थियो। बाटो अप्ठेरो त छँदै थिएन- र, परैसम्म देखिन्थ्यो पनि; तैपनि हिँड्न सजिलो थिएन। बोटबिरुवाका नाममा रहेका मसिना काँडे थेग्लाहरू पनि अब क्रमशः हराउँदै गएका थिए। र, सिधै देखिने चुचुरोमा चढ्न पनि अर्कोतिरको घुमाउरो बाटोको सहारा लिनु पर्ने भएको थियो।

    काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर!

    पर्वतारोहणका सन्दर्भमा यो कुरो ठ्याक्कै लागू हुन्छ। कता पुग्नु पर्ने कता गइरहेंछु भने जस्तो पनि हुन्छ- कृष्णहरि बरालका शब्दहरूमा बोल्ने हो भने। सिधा बाटो हिँडेर हिमाल चढिँदैन। हिमाल चढ्न त बाटोलाई पनि फकाउनु पर्छ। अल्छी नमानीकन पघार्न सक्नुपर्छ।

    मलाई आमादब्लामको याद आइरह्यो। चढ्नु छ पूर्वतिर रहेको चुचुरो, तर यात्रा गर्न थाल्नुपर्छ दक्षिण–पश्चिमतिर रहेको लामो र घुमाउरो धारमाथिबाट। अहिले हामीले चुचुरो देखिरहेको च्यार्खुरीले पनि हामीलाई यसरी नै नचाउँदैछ।

    मलाई च्यार्खुरीको मात अलि बढी नै लाग्यो। च्यार्खुरीको चुचुरोले दृष्टिलाई नै अझ फराकिलो बनाइदिएजस्तो लाग्यो- मलाई। हिमालको एकनासको सुन्दरताको सम्मोहनले अझ लठ्ठ पारेजस्तो लाग्यो मलाई। आफूले आफैँलाई नसम्हाल्ने हो भने यो चिसोकै बावजुद तुरुन्तै ‘ट्रान्स’मा पुगिहाल्छु वा समाधि लागिहाल्छ जस्तो लाग्यो मलाई।

    अहिले गुम्बा लजको चिम्नी वरिपरि झुम्मिएका हामी थकित अनुहारहरू हामीले आज बिताएका ती आठ घण्टाहरूलाई संझदैछौँ- जसले हामी माथि जादु चलाएर गए। हामीमाथि छुरा चलाएर गए। हामीलाई घाइते बनाएर गए। हामीलाई पागलप्रेमी जस्तो आल्हादित बनाएर गए। हामीले के पायौँ- वास्तवमा हामीले नै थाहा नपाउने बनाउने बनाएर गए। शिवपुरी बाबाले ईश्वर साक्षात्कारका सम्बन्धमा भन्नु भएको महान् उद्गार जस्तै- “सबै प्रश्नहरूको एउटै उत्तर मिल्यो।”

    एउटा प्रकाश जो हामीभित्र बल्यो- त्यसको छाया अहिलेसम्म पनि निभेको छैन।

    हुन त चोलामाथि उभिँदा, खोङ्मालामाथि उभिँदा, रेन्जोलामाथि उभिँदा वा छुकुङरी वा थोराङला वा कराङला वा सेला वा जाङलाको सर्वोच्च विन्दुमाथि उभिँदा पनि थोरबहुत यस्तै भएको थियो मलाई। कालापत्थरमाथि उभिएर वरपर हेर्दा वा गोक्योरीबाट हेर्दा पनि यस्तै भएको थियो मलाई। बिब्रेबाट हेर्दा वा थेङ्खाङ्बोचेको उँचाइबाट हेर्दा पनि यस्तै भएको थियो मलाई। छुकुङरीको प्रोजेक्सन शिल्पले पनि यसरी नै भुतुक्कै पारेको थियो मलाई। तर मलाई च्यार्खुरीको मात अलि बढी नै लाग्यो। च्यार्खुरीको चुचुरोले दृष्टिलाई नै अझ फराकिलो बनाइदिएजस्तो लाग्यो- मलाई। हिमालको एकनासको सुन्दरताको सम्मोहनले अझ लठ्ठ पारेजस्तो लाग्यो मलाई। आफूले आफैँलाई नसम्हाल्ने हो भने यो चिसोकै बावजुद तुरुन्तै ‘ट्रान्स’मा पुगिहाल्छु वा समाधि लागिहाल्छ जस्तो लाग्यो मलाई।

    के तपाईं कल्पना गर्न सक्नु हुन्छ कि एउटै धुरीबाट सानाठूला तर उत्तिकै सुन्दर १५० वटा जति चुलीहरूलाई एकसाथ देखिरहनु भएको छ भने तपाईंको मनमा कस्तो भाव आउला?

    त्यो वर्णनातीत सत्य, त्यो शब्दातीत श्रेष्ठता, त्यो कल्पनातीत सौन्दर्य, त्यो चेतनातीत संपूज्यता, त्यो रहस्यातीत शान्ति, त्यो श्रमातीत मोक्ष र त्यो व्याख्यातीत रचनालाई तपाईं के भन्नुहुन्छ? मेरा त आँखा भरिए भरर्र- र, दशै दिशालाई ढोग्दै भन्न पुगेँछु- ‘ॐ नमः शिवाय। शुद्धबोधस्वरुपोऽहं केवलोऽहं शदाशिवः।’

    मैले जानेर गरेको प्रतिक्रिया थिएन यो। मेरो अन्तस्करणले स्वतःस्फूर्त रुपमा जनाएको श्रद्घा वा प्रतिक्रिया यस्तै केही थियो यो। यस्तो लाग्थ्यो- म अनन्त प्रकाशको बीचमा छु। मृण्मय म अकस्मातै चिन्मयको नजिकमा पुगेको छु।

    आपूmभन्दा तल वा आफ्नै हाराहारीमा उभिएका यी हिमालका दर्जनौं चुचुराहरूका काँधमुनि रहेका खोल्सीहरू सबै सबै नै ‘नाद’ र चुचुराहरू ‘बिन्दु’ जस्ता देखिँदैछन्। चुचुराहरूभन्दा तलका खोल्सीहरूलाई जताबाट हेरे पनि ॐ जस्तै देखिन्छन्। होइन, के भएको हो मलाई यो? के यो मेरो दृष्टिभ्रम मात्रै होला त? म अग्लिँदै छु कि पग्लिँदै? मेरो मन घनघोर प्रशान्तिमा गएको हो कि आँधीमय भ्रान्तिमा?
    प्रभु, किन मेरो चेतनाले काम गरिरहेको छैन?

    यो प्रश्न अब म कोसँग सोधौँ?

    मेरा आँखा निरन्तर बगिरहे- जब कि मैले रुन चाहेकै थिएन। मेरा हातहरू निरन्तर जोडिइरहे- जब कि मैले कसैलाई वन्दना गर्न चाहेकै थिएन। म पूरै निःशब्द थिएँ र साथीहरूका आवाजलाई पनि अर्थहीन तवरले मात्र सुनिरहेको थिएँ। मेरा शब्दहरू ‘बैखरी’भन्दा पहिलेकै अवस्थामा थिए। मेरो चेतना ‘परा’मै थियो। मेरो मनसम्म ‘पश्यन्ति’मा हुँदो हो। मेरो कण्ठ अझै ‘मध्यमा’मा आइसकेको थिएन।

    यो सुन्दरतालाई आत्मसात् गर्न नसकेर मैले आँखा चिम्लेँ। तेत्तीस कोटि देउता भनेको के रहेछ- मैले तत्कालै बुझेँ। मलाई लाग्यो- म यसै बखत धर्तीमा भासिऊँ र, पृथ्वीमाताको अनन्त सौन्दर्यको काख मार्फत् परब्रम्हमा लीन होऊँ। बल्ल बुझेँ, शैलेन्द्रकुमार उपाध्यायले किन हिमसमाधि लिन चाहेका रहेछन् !

    जीवनको सुन्दरता र निःसारता दुवैलाई एकैपटक बोध गर्नुछ भने यस्तो उँचाइमा आउनैपर्छ। परिश्रम र प्राप्तिको सहसम्बन्धलाई सजिलो गरी बुझ्नु छ भने पनि पर्वतारोहण गर्नैपर्छ। संसारका सबै धर्म, सबै साम्प्रदाय, सबै प्रकारका सिद्घ पुरुषहरू, सबै सबै बुद्घ पुरुषहरू, सबै प्रकारका ईश्वरहरूले एकमुष्ठ सराहना गरेको कुनै चीज धर्तीमा छ भने त्यो हिमाल नै हो। संसार स्वयं नै कसैका अगाडि नतमस्तक छ भने त्यो पनि हिमाल नै हो। संसारको सबै स्वच्छता, पवित्रता, विचित्रता, अगम्यता, रहस्यमयता, रौद«रम्यता र उच्चतालाई कुनै शक्तिले एकै ठाउँमा थुपार्न सक्छ भने त्यो थुप्रो पक्कै पनि ‘हिमाल’ कै रूपमा प्रकटित भएको हुनुपर्छ।

    यो उच्चासनको स्पर्शले ममा पवित्रताको सञ्चार भइरहेछ। लुङ्ताको पवित्र हावाले मभित्रका सबै सबै कुविचारहरूलाई पुराना पातहरूलाई झैं हल्लाएर झारिरहेछ। म पूरै रि–इनर्जाइज भएको छु। मेरो चेतना पूरै नवीकरणीय ऊर्जाद्वारा उद्दीप्त भएको छ। म अब त्यो रहिनँ, जो म यहाँ आएको थिएँ। म अब त्यस्तो पनि भइनँ, जस्तो हुने सोच हमेशा पालेको थिएँ। मेरो रूप र अस्तित्वका अभिमान र कल्मषहरू क्रमशः पखालिँदै गएका छन्। लाग्छ, म बेग्लै हुँदै गएको छु। मैले अहिलेसम्म पनि दर्शन नपाएका हे सद्गुरुदेव ! वास्तवमा म हिमालको संगत गर्न थालेदेखि नै फेरिँदै गएको छु।

    वासांसि जीर्णानि यथा विहाय ………
    धन्य प्रभु ! म यो क्षणप्रति कृतकृत्य छु।

    आफ्नै हैसियतमा झण्डैझण्डै बराबरीकै उँचाइमा झल्झलाकार भएर झल्किरहेछ- गाङछेम्पो (६३८७ मि)। टल्टलाकार भएर टल्किरहेछ- गन्जला रेन्ज। उताबाट देखिएको त लाङसिसाखर्क मात्र पो हो रहेछ त- साँच्चीकै लाङसिसारी (६४२७ मि) त यताबाट पो देखिँदो रहेछ। अविराम मुस्कुराइरहेको नयाँखाङ उस्तै छ। उर्केमा (५८९० मि) उस्तै सुन्दर छ। भेम्दाङ्री (६१५० मि) पनि उस्तै छ। गजबको कुरो सबै चुलीका नजिकै पुगेजस्तो लाग्छ। यहाँ उभिइरहँदा चीनमा पर्ने विश्वको चौधौं अग्लो चुचुरो शिशापाङ्माको पनि टुप्पो देखिन्छ भनेका थिए ठिलेले- तर अलिकति बादल छ त्यतातिरको आकाशमा र त्यो चुचुरो देख्न पाइरहेको छैन मैले। लाक्पा भन्दैछन्- “हो, त्यै बादल प्रदेशमा छ त्यसको ८०१३ मिटर अग्लो चुचुरो।”

    मैले बादलको बर्को मात्र देखें। बर्को ओढेकी शिशापाङ्मालाई देख्न सकिनँ।

    अहो, कत्रो अजंगको देखिएको पाङ्गोङ्डोक्पा यहाँबाट। उस्तै आकर्षक छ याला पनि।

    हो, यही याला पिक (५७३२ मि) मै अभ्यास गर्नेछ अब हाम्रो ‘एड्भान्स’ ग्रुपले केही दिन। त्यही ग्रुपलाई पर्वतारोहणका विभिन्न कडीहरू सिकाउने काम गर्नेछन्- मेरा साथमा आएका पासाङ ल्हामु, टेण्डी, लाम्बाबु, ल्हाक्पा नोर्बु, दोर्जी लामा, लाक्पा शेर्पा लगायतका गुरुहरूले। केही विद्यार्थीहरू पनि आएका छन् हामीसँगै। जीउ तताउन आएका रे ! बुझ्नुभो? यत्तिको हिमाल चढ्नुलाई त ‘जीउ तताउने’ काम भनिन्छ यो क्षेत्रमा। अनि अरू आम मान्छे भन्छन्- “मेरी आम्मै नि, पुषमा हिमालतिर जाने?”

    उनीहरू ठान्दा हुन्- चैत बैशाखतिरको हिमाल पनि अलि न्यानो हुँदो हो। के थाहा उनीहरूलाई कि हिमाल त जहिले गए पनि उस्तै हुन्छ। सधैँ उस्तै हुनाले नै हिमाल पनि ‘हिमाल’ हुन्छ। हामीकहाँ त नबुझेको विषयमा पनि प्वाक्क बोलिहाल्ने, नमागेको विषयमा पनि तुरुन्तै सल्लाह दिइहाल्ने चलन छ नि त !

    चेर्को पिक उसरी नै चम्केको छ। युब्राका चुचुराहरू (६०३५ मि) उसरी नै तम्सेका देखिन्छन् सगर छुन। ओहो, किमजुङ ग्लेशियर पनि कति जीवन्त देखिएको हो! अहिल्यै घरररर गर्दै बग्न सुरू गर्ला जस्तो।

    एन्सा तेन्जी उस्तै छ। मोरिमोतो झन दुरुस्तै छ। फूर्बी ग्याचो (६६३१ मि) आफ्नै धूनमा मस्तै छ। यहीँबाट देखिँदैछ गोन्जाला पास पनि। हो, यो पास नाघेपछि यतैबाट पनि गोसाइँकुण्ड पुग्न सकिन्छ रे।

    “म त्यतैबाट फर्किऊँ त?”

    “अहिले एक्लै त्यतातिर नजानोस् है। त्यतातिर त घटीमा पनि ८/१० फिट हिउँ परेको होला बाटोमै। तपाईं अलपत्र पर्न सक्नुहुन्छ। तपाईं त हामीभन्दा पनि मूर्ख हुनुहुन्छ र डर लाग्छ क्या सर !” लाक्पा मलाई सचेत पार्दै सुझाइरहेछन्।

    लाङटाङ लिरुङ आफ्नो अद्वितीय सुन्दरतासहित सबैभन्दा ठूलो क्षेत्रमा फिँजिएको रहेछ। ओहो, त्यसको बाक्लो हिउँको खास्टो ओढेको भिरालो काँधको सुन्दरताको त कुरै नगरौँ।

    सबैभन्दा पहिले तिलमान नामका कुनै गाइडले यो बाटो पत्तो लगाएको हुनाले यो गञ्जाला पासलाई ‘तिलमान पास’ पनि भनिँदो रहेछ।

    धन्य छ यतातिरको चलन र कदर गर्ने संस्कृति। जसले दुःख गरेको हो- उसलाई सम्मान दिइहाल्ने। तिलमान को थिए? कसैलाई पनि थाहा छैन। तर उनको नामको यो ‘चिनो’ अहिले पनि जनजिब्रोमै छ।

    लाङटाङ लिरुङ आफ्नो अद्वितीय सुन्दरतासहित सबैभन्दा ठूलो क्षेत्रमा फिँजिएको रहेछ। ओहो, त्यसको बाक्लो हिउँको खास्टो ओढेको भिरालो काँधको सुन्दरताको त कुरै नगरौँ। त्यही काँध तलसम्म झर्छ- अनि किमजुङ ग्लेशियरको पातलो शलले युब्राका शिरहरूलाई बेरिदिन्छ। मानौँ, जाडोबाट बचाउँदै आफ्ना सन्तानहरूलाई हुर्काइरहेछ- आमा लाङटाङ लिरुङ।

    छेउमै छ लाङटाङरी (७२०५ मि) र पूरै फिँजारिएर दर्शन दिइरहेछ हामीलाई। अलि परैबाट सुन्दरताका आँखा झिम्क्याइरहेछ दोर्जे लाक्पा (६९६६ मि) ले।

    नाम जानेर त साध्य भए पो? उही तर्पण दिँदा ‘यथा नाम’ भनेझैं हामी अहिले झण्डै १५० जति चुलीलाई एकसाथ देखिरहेका छौं।

    ‘ज्ञात अज्ञात सबै चुलीलाई हाम्रो प्रणाम छ।’

    ठिले भन्दैछन्- “ऊ त्यो पर देख्नुभयो नि भेम्दाङरी; हो- त्यसैको फेदी भेम्दाङकार्पुबाट ग्लेशियर फुटेको छ र त्यो नै लाङटाङ खोलाको जन्म हो। त्यही ग्लेशियरको दाहिने हाततिरको पूरै श्रृंखला जुगल श्रृंखला हो र बायाँतिरको चैँ लाङटाङ श्रृंखला।”

    नाम त कसले जानेर सक्छ र? तैपनि ठिले भन्दैछन्- “धेरै हिमालको त अघि नै नाम लिइहालियो। अब श्रृंखलाको कुरा गर्ने हो भने चैं लाङटाङ श्रृंखलाभित्र पर्नेमा ऊ त्यो युब्रा (६०३५ मि) भइगयो, त्यो याला (५७३२ मि), त्यो साल्बाचुम (६७०७ मि), ऊ त्यो चैं पाशुबो (६१७७ मि), यो छेवैको लाङ्टाङरी (७२०५ मि), त्यो मूल नै भैगो लाङ्टाङ लिरुङ (७२३४ मि) अनि ती दुई चै क्युङ्ग्यारी-१ (६५९९ मि) र क्युङ्ग्यारी-२ (६५०६ मि) हुन्। अनि त्यो परको चैं काङ्जाचुली (५८४४ मि), त्यो यतापट्टिको घेन्ये लिरू (६५७१ मि), त्यो भेम्दाङ्री (६१५० मि) र त्यो त उर्केमा (५८९० मि) नै भइहाल्यो। अनि याङ्सा तेन्जीसमेत भनिने धाग्पाहे हिमाल (६५६७ मि) त्यो र पनयातिप्पा नाम भएको ड्राग्मोर्पारी हिमाल (६१८५ मि) चैं ऊ त्यै हो।”

    ठिलेले हिमालका नाम सुनाउने र मैले बिर्सने काम सँगसँगै भइरहेको छ; तैपनि हार मानेका छैनन् उनले। सुनाइरहेछन् मलाई अप्ठेरा लाग्ने हिमालका नामहरू लगातार। भन्दैछन्- “जुगल श्रृंखलाको पनि कुरो गरौँ है त? ऊ, त्यो परको उक्र्यामाङ (६१५१ मि), त्यो फूर्बी ग्याचो (६६३१ मि), अनि ऊ त्यो चैं अलिकतिले ७००० मिटर नपुगेको ल्योन्पोगाङ (६९७९ मि), अब त्यो त गोरु मरेकै हिमाल भैगो, लाङसिसारी (६४२७ मि) र त्यो परको चैं ग्याल्जेन पिक (६१५१ मि) हो। अब यो फराकिलो गाङ्छेम्पो (६३८७ मि) नै भैगो, त्यो चैं गुर्कार्पोरी (६८९१ मि), त्यो त चर्चित पिक नै हो, दोर्जेलाक्पा (६९६६ मि) अनि ऊ त्यो चैं मदिया पिक समेत भनिने भैरव टाकुरो (६७९९ मि) हो। सबै चिन्न त कहाँ साद्दे हुन्छ र सार?”

    मेरी आम्मै नि, मैले मानेँ ठिलेलाई त। यति चिनाएर पनि अरू थाहा छैन भन्छन्। मैले त कहिले घोक्न सक्छु र यति धेरै नामहरू?

    प्रकृतिको यो विचित्र जादुगरीलाई शब्दशून्यताका साथ स्वीकार गरेर हामी फर्किदैछौँ। क्यामेरालाई चिसोबाट जोगाएन भने ब्याट्री एकैछिनमा सकिन्छ र भनेको ठाउँमा क्यामेरा नै प्रयोजनशून्य हुन्छ भन्ने ज्ञानसमेत यही भ्रमणबाट प्राप्त गर्दै हामी अब क्रमशः ओरालिँदै छौं।

    कुनै दिन हिमालतिर जाने योजना बनाउनु भयो भने तपाईंले चाहिँ सुरूदेखि नै क्यामेरालाई न्यानो ठाउँमा राख्न नभुल्नु होला है! नत्र मैलाई झैं धोका हुनेछ नि फेरि!