बालबालिकालाई खाना खुवाउने तरिका र अभिभावकको भूमिका - Chaitanya News
  • 2026-07-17
  • 00:47:00
  • बिहिबार,आषाढ ३२, २०८३
  • बालबालिकालाई खाना खुवाउने तरिका र अभिभावकको भूमिका

    बालबालिकालाई खाना खुवाउने तरिका र अभिभावकको भूमिका

    खाना खानु जीवनको महत्वपूर्ण क्रिया भएतापनि खानामा हुने रुचि र शरीरको आवश्यक्ताको समन्वय हुनु अत्यावश्यक छ।

    आजभोली बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकहरूको लागि चूनौती बनेको छ। विशेषतः पारिवारिक संरचनामा आएका परिवर्तन, बालबालिकाको शारीरिक संञ्चालनमा कमी, अभिभावकको कार्य व्यस्तता, मोवाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाना खाने बानीमा चुनौति देखापरेको पाईन्छ।

    बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न अभिभावकहरूले निम्नानुसारको व्यवस्थापन गर्न सकिन्छ।

    १. सँगै खाना खाने:
    परिवारका सदस्यहरू सबैलाई एकैपटक पस्कने र बालबालिकालाई पनि उमेर अनुसार सँगै खान दिने वा खुवाउने गर्नु पर्दछ। यस क्रममा अभिभावकले गरेका खाना प्रतिको आदर सत्कार, संस्कार, संस्कृति बालबालिकाले सिक्छन्। खाना खाँदा खानाको नाम, स्वाद र रङ, पकाउँदाको स्वाद, काँचोको स्वादमा पाईने भिन्नता बारे कुराकानी गर्ने गर्नु पर्दछ। जसले गर्दा बालबालिकामा खानाप्रतिको खोज, अनुसन्धान गर्ने जिज्ञासा अभिवृद्धि हुन्छ।

    यदि अभिभावक कामकाजी हुनुहुन्छ भने पनि बालबालिकालाई आफूसँगै खाना खुवाउने व्यवस्था गर्नुपर्छ। उमेर अनुसार आफ्नो र बालबालिकाको दिनभरीको रुटिन बनाउँदा राम्रो हुन्छ, जस्तैः बालबालिका पनि खाना खाएपछि आ(आफ्नो खेलौनाको झोला बोकेर घरमै बनाईएको खेल क्षेत्रमा जाने र रुटिन अनुसार खेल्ने खाजाको समयमा खाजा खाने गर्ने। साँझ अभिभावकले आफूले के के गरियो र खाना, खाजा कतिबेला खाइयो बताउने र बच्चाको पनि सोध्ने वा कुराकानी गर्ने गर्नुपर्छ।

    २. करबल नगर्नेः
    शिशुले स्तनपान गर्ने बेला देखि खाना पुगेको संकेत स्तनको मुन्टो जिब्रोले बाहिर फालेर वा दुध चुस्न छाडेर गर्दछन्। थप खाना खान थालेपछि पनि यसैगरी ननिल्ने र जिब्रोले घचेट्ने गर्दछन्।

    यस्ता संकेतहरू गरेपछि अभिभावक तथा हेरालुले खाना खुवाउन बन्द गर्नुपर्छ। यस्ता संकेतहरूलाई अभिभावकले बेवास्ता गरेर करकाप गर्दा बालबालिकाले खाना प्रति मात्र नकारात्मक भाव राख्न थाल्दैनन् , उनीहरूले अभिभावक प्रतिको विश्वास पनि गुमाउँदै जान्छन्।

    ३. आकर्षक भाँडाहरूको व्यवस्थाः
    बालबालिकालाई उमेर अनुसारका खाना खाने आकर्षक भाँडाहरूको व्यवस्था गर्ने र खाना खाईसकेपछि उनीहरूले देख्नेगरी सफा गरेर सहि ठाँउमा राख्नु पर्छ। उमेर अनुसार उनीहरू आफैले सफा गर्न कोशिस गर्छन् यस्तो बेलामा उनीहरूलाई सहयोग गर्नुपर्छ। आफ्नै थालकचौरामा, गिलासमा पानी खाने गर्नाले उनीहरूको आत्मसम्मान बढ्छ र आफ्नै भाँडामा खाने रहर पनि हुन्छ।

    ४.खाना पकाउने तयारीमा सहकार्यः
    तरकारी केलाउनेरपखाल्ने, चामल केलाउनेरपखाल्ने र खाने तयारीमा पनि बालबालिकालाई उमेर अनुसार सहभागी गराउनु पर्छ। जसले गर्दा उनीहरूमा खाना पकाउने जस्तो परिवारको महत्वपुर्ण कार्यमा सहयोग गर्न सक्षम भएकोमा गौरव र आत्मविश्वास बढ्दछ। आफूले मिहेनत गरेको खाना खाने जिज्ञासा हुन्छ। बाबु होस् या नानी, दुवैलाई खाना पकाउने वा भाँडा माझ्ने कुरामा सहभागी हुन र यी जीवनोपयोगी सिप हुन् भनेर सिकाउनु पर्छ।

    ५.प्राकृतिक स्वादहरुः
    बालबालिकालाई प्राकृतिक स्वाद, जस्तैः घिउ, मह, दूध तथा स्थानीय क्षेत्रमा पाइने खानाहरूको स्वाद दैनिक खानामा समावेस गरी बानी बसाउनु पर्छ। दैनिक खाने खानाहरू, तरकारी दालहरू परिवर्तन गर्ने, यसैगरी बालबालिकालाई पनि थोरै पीरो र अमिलो हालेर अचार बनाई दिने गर्नु पर्छ। यसले विभिन्न परिकारहरूको स्वाद बस्छ र खाना खाने रहर अभिवृद्धी हुन्छ, तर तयारी मसला र स्वादहरू मिसाएर धेरै खुवाउने रहर गर्नुहुदैन।

    ६.बालबालिकाको लागि विशेष खानाः
    बालबालिकाको उमेर अनुसार विशेष खाना तयार गर्नु पर्छ, जस्तै गिलो, नरम, नुन वा चिनी कम भएको तर पौष्टिक खानालाई उनीहरूको विशेष भाँडाहरूमा आकर्षक तरिकाले विभिन्न रङहरू, जस्तैः रातो गोलभेडा,हरियो साग तथा सेतो भात, पहेलो दाल आदिले सजाएर खुवाउनु पर्छ। यसले गर्दा खाना खान उत्प्रेरणा जागृत हुन्छ।

    ७. खाना खाने समय निर्धारणः
    परिवारको खाना खाने समय निश्चित बनाउनु पर्छ, जस्तैः विहान ९बजे, दिँउसो २ बजे, साँझ ७ बजे। बालबालिकाको पनि, परिवारको समय भन्दा थप उमेर अनुसारको खानाखाने समय निर्धारण गर्ने गर्नुपर्छ। यसले गर्दा निश्चित समयमा भोकको अनुभव हुन्छ र खानामा रुचि बढ्छ।

    ८. विकासात्मक चरणः
    बालबालिकाको विकासात्मक चरण अनुसार खानाको आवश्यक्ता फरक हुनसक्छ। जस्तै, पहिलो २ वर्षमा शिशुले खाएको खाना शरीरको वृद्धि र मानसिक विकासमा प्रयोग हुन्छ भने २ वर्ष माथिका बालबालिकाहरू क्रियाशील हुन्छन् र उनीहरूको शारीरिक क्रियाकलापमा कमी भएको खण्डमा पनि खाना रुचि कम हुन्छ। यस्तो अवस्थामा अभिभावकले खानामा भन्दा शारीरिक संञ्चालनका खेलहरूमा जोड दिनुपर्छ। युनिसेफ नेपालबाट