अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा टाँसियो डाक्टर कुटपिट गर्दा हुने सजायको विवरणसहितको बोर्ड - Chaitanya News
  • 2026-07-17
  • 00:47:32
  • बिहिबार,आषाढ ३२, २०८३
  • अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा टाँसियो डाक्टर कुटपिट गर्दा हुने सजायको विवरणसहितको बोर्ड

    अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा टाँसियो डाक्टर कुटपिट गर्दा हुने सजायको विवरणसहितको बोर्ड

    काठमाडौँ– अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीमाथि हातपात गर्दा हुने दण्ड तथा सजायसम्बन्धी व्यवस्थाको बडापत्र राख्न थालिएको छ।

    स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढेपछि सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धी कानुनी व्यवस्थासहितको जानकारी स्वास्थ्य संस्थाहरूमा सबैले देख्ने गरी राख्ने निर्णय गरेको थियो।

    सोही अनुसार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सजायसम्बन्धी जानकारीमूलक बडापत्र टाँसिएको छ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संशोधनसहित)ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्ने निर्णय गरेको थियो।

    स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्‍याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ।

    उक्त सूचना पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा (३)मा व्यवस्था भएअनुसार हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५ मा व्यवस्था भएको कसुर र सजायको व्यवस्थाबारे जानकारी उल्लेख गर्नुपर्नेछ।

    ऐनअनुसार स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

    स्वास्थ्य संस्थामा तोडफोड, वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याए स्वास्थ्यकर्मी(कर्मचारीलाई कुटपिट वा शारीरिकरुपमा चोट पुर्‍याए तीन वर्षसम्म कैद वा तीन लाख जरिवाना वा दुवै सजाय हुनसक्छ।

    यस्तै, स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीलाई बाधा पुर्‍याए र स्वास्थ्यकर्मी वा कर्मचारीलाई हातपात गरे एक वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।