सफलता हासिल गर्न लोकसेवाको परीक्षा ढाँचासँग अभ्यस्त हुनुपर्छ - Chaitanya News
  • 2026-04-30
  • 16:58:12
  • बिहिबार,बैशाख १७, २०८३
  • सफलता हासिल गर्न लोकसेवाको परीक्षा ढाँचासँग अभ्यस्त हुनुपर्छ

    सफलता हासिल गर्न लोकसेवाको परीक्षा ढाँचासँग अभ्यस्त हुनुपर्छ

    नेपालमा रोजगारीको समस्या छ। थुप्रै युवाहरू बेरोजगार छन्। लोकसेवा तयारी गरेर सरकारी सेवामा प्रवेश गर्नुपर्छ भनेर चाख राख्ने युवायुवतीहरूको सङ्ख्या पनि बढ्दो छ। त्यसका अलावा ठूलो सङ्ख्यामा युवा वर्ग बिदेसिने क्रम जारी नै छ। तीन जना मेरै क्लास मेड साथीहरू सल्यानको तीन पालिकामा प्रमुख प्रशासकीय अधिकृत छौं। यो पनि लोकसेवाप्रति आकर्षण बढेको एउटा उदाहरण हो। म जन्मेकै पालिकामा प्रत्येक वर्ष २०/३० जनाले सरकारी सेवामा नाम निकाली रहनु भएको छ। पहिले सुदूरपश्चिम र मध्यपश्चिममा लोकसेवाप्रति त्यति आकर्षण थिएन। अहिले आकर्षण बढ्दो छ। लोकसेवा आयोगमा जागिर खान पावर लाग्दैन। सामान्य परिवारमा जन्मिएका क्षमतावान् मानिसले नाम निकाल्न सक्ने क्षेत्र पनि लोकसेवा हो। सार्वजनिक प्रशासनमा गएर समाजका लागि केही गर्न सकिने अवस्था रहन्छ भनेर पनि युवाहरू लोकसेवाप्रति आकर्षण भइरहनु भएको छ।

    म त जागिर खानु हुन्न भन्ने सोचमा थिए। उद्यमशीलताको अवस्था सिर्जना गर्न चाहन्थे। मेरो अध्ययनको क्षेत्र पनि इन्जिनियरिङ हो। यही क्षेत्रमा केही गर्नुपर्छ भन्ने मेरो सोच थियो। इलेकट्रोनिक कम्पनी खोलेर नेपालमा उद्यमशीलता सिर्जना गर्नुपर्छ भनेर लागेको थिए। तर, मैले साथ नै पाइन। त्यसपछि म निर्माण कम्पनीतर्फ लागेँ। निर्माण कम्पनीतर्फ सानातिना पहुँच नहुने मानिस, गुण्डागर्दी र प्रहरीसँग मिल्न नसक्ने मानिसले काम गर्न सक्ने अवस्था रहेन छ। त्यहाँ मलाई घाटा लाग्यो। त्यसपछि विदेश जाने सोच पलायो। अस्ट्रेलिया जाने भनेर आएल्स पास भइयो। इन्टरभ्यु दिन जाँदा मोटरसाइकल दुर्घटनामा पढेँ। हात फ्याक्चर भयो। त्यो पनि मेरा लागि उपयुक्त होइन भन्ने लाग्यो। त्यसपछि मैले लोकसेवाको परीक्षा दिएको हुँ।

    पहिलो पटक मैले शाखा अधिकृतको परीक्षा दिएको थिए। सामान्य प्रशासनतर्फ ३६ नम्बरमा मेरो नाम निस्किएको हो। कोरोना महामारीको समय थियो। क्लास लिन सक्ने अवस्था पनि थिएन। मैले सरमै अध्ययन गरेँ। चैतन्यको युट्युबबाट भिडियो हेर्दै ज्ञान बटुलेँ, सेल्फ अध्ययन गरेर म नाम निकाल्न सफल भएको हुँ। लोकसेवा आयोग पास गर्नका लागि निकै कठिन छैन। जिज्ञासु, समाचारप्रति अपडेट हुने मानिसले नाम निकाल्न सक्ने सम्भावना हुन्छ। शाखा अधिकृतका लागि अङ्ग्रेजी र गणित पनि राम्रो हुनुपर्छ। किताबी ज्ञानभन्दा बाह्य ज्ञानमा पनि तयारी गरिरहेका व्यक्तिहरूले ध्यान केन्द्रित गर्नुपर्छ। लोकसेवामा यो नै प्रश्न आउँछ भन्ने कुनै ग्यारेन्टी हुँदैन। मैले परीक्षा दिएकै वर्ष पनि २७ हजारले परीक्षा दिनु भएको थियो। पहिलो पेपरमा २७ सयमात्रै उत्तीर्ण हुनु भएको थियो। पास हुँनै गाह्रो। मधेसी, जनजाति र अपाङ्ग कोटामा त कोटा नै खेर गए।

    लोकसेवा पास गर्न समयको व्यवस्थापन पनि चाहिन्छ। ज्ञान हुन्छ, समय व्यवस्थापन हुँदैन। कुनै प्रश्नको उत्तर आधा घण्टासम्मै लेखिदिने गर्न थाल्नुहुन्छ। एउटामात्रै प्रश्न छुट्यो भने शाखा अधिकृतमा नाम निकाल्न गाह्रो हुन्छ। कतिपय व्यक्तिले प्रस्ट अक्षर नहुँदा धोका खानुहुन्छ। परीक्षार्थीले लेखेको कुरा कपि जाँच गर्ने मानिसले बुझ्नुपर्छ। त्यसैले लेखाइ सफा हुनुपर्छ। नेपाली भन्दा अङ्ग्रेजी माध्यमबाट लेख्ने मानिसले राम्रो मास्क ल्याएको देखिन्छ। परीक्षामा सफलता प्राप्त गर्नका लागि आफूले आफैँलाई परीक्षण गर्नुपर्छ। मैले त्यही गर्थे। प्रश्नहरू गुगलमा राखिएको हुन्छ, कतिपय इन्सिच्युडहरूमा पनि राखिएको हुन्छ। समय हेरेर क्विसनको हल गरेर उत्तर आफ्नो क्षमतामा निखारता ल्याउँदै जानुपर्छ। यसले आत्म विश्वास बढाउँछ।

    किताबमात्रै पढेर हुँदैन, नोट बनाउनुपर्छ। सुनेर, लेखेर, हेरेर र रिपिट गरेर अध्ययन गर्दा हाम्रो दिमागले बढीभन्दा बढी क्याप्चर गर्न सक्छ। पढेर र एक पटक सुनेर हामी ४० प्रतिशत जान्न सक्छौं। लेख्यौं भने ७० पुग्छ रे। फेरि-फेरि लेख्यौं भने सम्झिने क्षमता सय पुग्छ। आफ्नै हातले नोट बनाउँदा सम्झिन सहज हुन्छ। कानुनका लामा-लामा च्याप्टर हुन्छन्। तीभित्रका मुख्य कुराको समरी निकाल्नुपर्छ। त्यो समरीलाई दुई/तीन पटक अध्ययन गर्दा याद हुन्छ। दोस्रो, तेस्रो र चौथो पेपरका लागि समयभित्र रहेर निरन्तर लेख्ने अभ्यास गर्नुपर्छ। १० पूर्णाङ्कको प्रश्न भए त्यसको उत्तर १५ मिनेटमा लेखिसक्नुपर्छ। त्यसका लागि फर्म्याटमा अभ्यास गर्नुपर्छ। आफू भन्दा सिनियर मानिसलाई आफूले गरेको अभ्यास देखाएर प्रतिक्रिया लिनुपर्छ। आफूले नदेखेको कमजोरी अरूले देख्छन्। यसरी अध्ययन गर्‍यौ भने वर्षौं तयारी गर्नुपर्दैन।

    कोही साथी पटक-पटक असफल भइरहनु भएको छ भने उहाँले आफ्नो अध्ययन गर्ने शैली फेर्नुपर्छ। हाम्रो दिमाग कसैको कम बढी हुँदैन, त्यसको प्रयोग गर्ने तरीकाले फरक पार्छ। सबैले एकै तरिकाले अध्ययन गर्नुपर्छ भन्ने छैन। आफूलाई याद हुने तरिका अपनाउनुपर्छ। बजारका ठूला र नाम चलेका बुक ल्याएर अध्ययन गरेरमात्र नाम निस्कने होइन। धेरै लेखकका पुस्तकमात्रै थुपारेर हुँदैन। अफिसरको तयारी गर्दा मैले एउटा पनि पुस्तक किनिन। मैले अन्तरवार्ता र कम्युटरका लागिमात्र एउटा किताब किनेको थिए। मैले साथीको बुक ल्याएर मेन कुरा के हुन् नोट बनाउँथेँ। गोरखापत्रमा सधैँ थुप्रै कुरा आइरहेका हुन्छन्, नयाँ कुरा आउँदा टिप्ने गर्नुपर्छ। फर्मुलाहरू पनि हुन्छन्, ती याद गर्दा पनि सहयोग पुग्छ। परीक्षासँग परिचित नहुँदा लोकसेवामा फेल भइन्छ। आज भोलि लोकसेवा तयारी गराउने इन्सिच्युटहरूले लोकसेवाको तयारी परीक्षा गराउनु हुन्छ, ती परीक्षामा सहभागी भएर आफूमा निखारता ल्याउनुपर्छ। क्लासमै सहभागी हुन नसके पनि अनलाइनका माध्यमबाट पनि त्यस्ता फिडब्याक सेसनमा सहभागी हुन सकिन्छ। उत्तरपुस्तिकामा टिक लगाउन नजानेर, कि लेख्न छुटेर पनि राम्रा विद्यार्थीहरू फेल भइरहनु भएको छ। त्यसैले हामीले मसिना-मसिना कुरामा ध्यान दिनुपर्छ।

    (कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वलीसँग गरिएको कुराकानीमा आधारित।)