भारतीय पत्रकारहरुको घरमा दिल्ली प्रहरीको छापा - Chaitanya News
  • 2026-11-19
  • 08:47:54
  • बिहिबार,मंसिर ०४, २०८३
  • भारतीय पत्रकारहरुको घरमा दिल्ली प्रहरीको छापा

    भारतीय पत्रकारहरुको घरमा दिल्ली प्रहरीको छापा

    काठमाडौं– भारतका पत्रकारहरुको घरमा दिल्ली प्रहरीले छापा मारेको छ। प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो।

    उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ। साथै यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत गरेको छ।

    केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो। प्रहरीले आज मारेको छापा पनि पनि सोही घटनासँग सम्बन्धित रहेको बताइएको छ।

    समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मारेको छ। प्रहरीले कसैलाई नियन्त्रणमा लिएको खबर भने सार्वजनिक भएको छैन। दिल्ली प्रहरीले पनि यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

    पत्रकार अभिसार शर्माले दिल्ली प्रहरी आफ्नो घरमा आएर ल्यापटप र फोन लगेर गएको बताएका छन्।

    भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा नै न्युज क्लिकमाथि चिनियाँ लगानीमा सञ्चालन रहेको आरोप लगाएका थिए भने न्युज क्लिकले नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय जनता पार्टीको आलोचना गर्ने गरेको थियो।