स्थानीय सरकार जनताको सबै भन्दा नजिकको सरकार हो। नजिकको सरकार भएकै कारण स्थानीय सरकारसँग जनताका थुप्रै अपेक्षा हुन्छन्। आफैँमा पनि स्रोत साधन र अधिकार सम्पन्न स्थानीय तहका जनप्रतिनिधिले चाहेमा नतिजा देखिने गरी काम गर्न सक्छन्। नेपालमा ७ सय ५३ वटा पालिकाहरू छन्। ती मध्ये कतिपय पालिकाले जनपेक्षा अनुसार काम पनि गरिरहेका छन्। कतिपय पालिकाका जनप्रतिनिधि भने विवादित पनि बनेका छन्। राम्रो काम गरेका पालिकाका जनतालाई सिंहदबार गाउँमै आएको भान भएको छ। केही पालिकाहरूमा भौगलिक विकटताका र सिमित स्रोत साधनका बीच काम गर्न असहज पनि छ। तर, कुन पालिकाले कसरी काम गरिरहेका छन् र त्यहाँका जनताको अपेक्षा के छ? भनेर चैतन्य खवरले जनप्रतिनिधिहरूसँग बहसको सुरुवात गरेको छ। सोही अनुरूप आज चैतन्य खबरका लागि अछामको साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र बाहादुर कुँवरसँग निर्मला कडायतले संवाद गरेकी छन्:
तपाईं जनप्रतिनिधि भएर आइसकेपछि के–के काम गर्नुभयो ?
जनप्रतिनिधिका रूपमा आइसकेपछि सबै भन्दा पहिला मैले मेरो पालिका भित्रका आधारभूत आवश्यकताका विषय औंल्याए। र, ती समस्याको समाधान गर्न केन्द्रित छु। जनप्रतिनिधि भएर आइसकेपछि नगरपलिकाका सडक नपुगेका विभिन्न ठाउँमा सडक विस्तारको काम भइरहेको छ। नगरपालिकाभित्र शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेर काम गरिरहेको छु। ६४ पटा विद्यालयमा अलोवल गरेर कतिपय विद्यालयलाई समायोजन गरेका छौं। पालिकाभित्र बाटोको समस्या भएका ठाउँमा सडक विस्तार गरिरहेका छौं। विजुली बत्ति नभएको ठाउँमा विजुली बत्ति पुगाइसकेका छौं। पहाडी जिल्ला, भौगोलिन कठिनाइ छ। स्रोत-साधनको अभाव छ। त्यसका वावजुद पनि हामी यसरी हामी प्राथमिकताका क्षेत्र हेरेर काम गरिरहेका छौं।
तपाईंको पालिकाका प्रमुख समस्या के–के हुन्?
मैले माथि पनि भने, पहाडी जिल्ला भएकाले यहाँ भौगोलिक बनावट सहज छैन। हाम्रो पालिकामा सबै ठाउँमा सडक पुग्न सकेको छैन। त्यसैले सडक विस्तार हाम्रो प्राथमिक एजेण्डा हो। ग्रामिण सडक छन्। ति घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुन्छन्। हाम्रो स्रोत साधनले भ्याएसम्म यो समस्यालाई सम्बोधन गर्दै जाने छौं।
जनपेक्षाका उच्चतम प्राथामिकता विषय के–के पाउनु भएको छ?
जनपेक्षाका उच्चतम प्राथामिकता भनेका शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो–घाटो हुन् । यी सबै समस्या समाधन गर्न हामीसँग बजेटको अभाव छ। यी समस्या कसरी समाधान गर्ने भनेर हामी चिन्तित पनि छौं। योजनावद्ध ढंगबाट प्राथमिकताका आधारमा स्रोत-साधनले भ्याएसम्म काम पनि गरिरहेका छौं।
तापाईंको पूर्ण कार्यकालका योजना के छन्?
योजना त थुप्रै छन्। तर, मैले बाटोघाटोलाई पहिलो प्राथमिकतामा राखेको छु। बाटोघाटोको सहजता भएमा कुनै ठाउँमा उत्पादित बस्तुलाई सहज रूपमा बजार पुगाउन सकिन्छ। यसले किसानको आयस्रोतमा वृद्धि हुन्छ। जनताको जीवनस्थर माथि उकासियो भने त्यो हाम्रा लागि ठूलो खुसीको कुरा हुन्छ। बाटोघाटो राम्रो हुँदा कोहि बिरामी पर्दा समयमै अस्पताल पुगाउन सकिन्छ। त्यसपछि शिक्षा, स्वास्थ्य, खानेपानी पनि मेरो प्राथमिकतामा नै छन्।
तपाईंको पालिकामा कर्मचारीको प्रयाप्तता , अप्रयाप्तता के छ?
हामीले कर्मचारीको ठूलो समस्या भोगिरहेका छौं। प्रशासकीय अधिकृत नै नपाएको हामीले ६ महिना वितिसक्यो। निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको छ। जसले गर्दा हामीलाई खाता सञ्चालनमा समेत असहजता भइरहेको छ। प्रमुख प्रशासकीय अधिकृत नै नपाएको पालिकामा अन्य कर्मचारीको अभाव त कति हो कति। हामीसँग प्राविधिक जनशक्तिको त झनै ठूलो समस्या छ। यसमा केन्द्र र प्रदेश सरकार पनि गम्भीर र जवाफदेही हुनुपर्छ।
अहिले स्थानीय सरकार र पालिकामा भ्रष्टाचार बढ्दो छ भन्ने गुनासो सुनिन्छ, यसको नियन्त्रणका लागि तपाईं कति सजग हुनुहुन्छ?
भ्रष्टाचार हुन नदिने कुरामा म निकै नै सजग छु। भ्रष्टाचार व्यक्तिको प्रवृति र स्वभावमा भर पर्ने कुरा हो। हामी जनप्रतिनिधि त जनताको काम गर्न आएका हौं। म मेरो पालिकामा भ्रष्टाचारको गन्धसम्म आउन नदिने कुरामा सचेत छु। जनमैत्री सेवा प्रवाह गर्दै सुशासन कायम गर्नु हाम्रो प्रमुख दायीत्व हो।
पालिकाका सबै वडामा विकासको सामानुपातिक नीतिलाई कसरी अवलम्बन गरिरहनु भएको छ?
बढी समस्या रहेका र दूर्गम पालिकालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु। सबै पालिकाका जनताले नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधाको उपभोग समान रूपमा पाउनुपर्छ भन्ने कुरामा नै म केन्द्रित छु।
स्थानीय सरकारलाई प्रदेश र केन्द्र सरकारको कस्तो सहयोग छ? त्यसका अलवा यहाँहरू प्रदेश र केन्द्र सरकारसँग अपेक्षा र कुनै सुझाव छ?
प्रयाप्त मात्रामा आन्तरिक राजस्व उठ्दैन। हामी प्रदेश र केन्द्र सरकारको भरमा नै चलिरहेका हुन्छौं। त्यसैले हामीलाई प्रदान गर्ने बजेट र अनुदानको दायरा फराकिलो पारिदिन म आग्रह गर्दछु। त्यो भयो भने हामी अझ बढी नतिजामूखि काम गर्न सक्थ्यौं।