काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएका छन।
आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको समेत बताए।
उनले सबै मिलेर मेहनत गर्ने हो भने देखिएको समस्या समाधान हुने बताए। उनले अहिले चुनौती भन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतीमै सम्भावनाका ढोका खुल्ने जिकिर गरे। पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको उनको दाबी थियो।
उनले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको बताए।
पूर्व सभामुख सापकोटाले सरकार जनताका आवाज सुन्न तत्पर रहेको बताए।