धुलिखेल- नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले आर्थिक समृद्धिका लागि देशमा सुरक्षित लगानीमैत्री वातावरण निर्माण गरिनुपर्ने बताएका छन्। चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनार अन्तर्गत आर्थिक विकास, समृद्धिको आधारमा आफ्नो धारणा राख्दै उनले उक्त कुरा बताएका हुन्।
‘लगानी सुरक्षित हुने नहुने हेरेर मानिसले लगानी गर्छ। लगानी सुरक्षित हुने ठाउँमा लगानी केन्द्रित हुन्छ। र, लगानीमा होम बायसको अवस्था आउँछ। त्यसैले राज्यले सुरक्षित लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने।
देशको अर्थतन्त्र कमजोर भयो भने विदेश पढ्न गएका विद्यार्थीहरू स्वदेश फर्किने सम्भावना कम हुनेतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए। ‘विदेशमा अध्ययन गर्न गएको मानिसलाई स्वदेश फर्काउन हामीले के गरिरहेका छौं। उनीहरूको ज्ञान र लगानीको सुरक्षा कसरी हुन्छ भन्ने कुरामा राज्य प्रस्ट हुनुपर्छ,’ उनले भने।
यसका साथै उनले सुशासन भएका देशका नागरिकको प्रतिव्यक्ति आम्दानी राम्रो हुने बताएका छन्। ‘सुशासन समृद्धिको आधार हो। यसको आम्दानीसँग अन्तरसम्बन्ध हुन्छ। संसारका सबै मुलुकमा आर्थिक क्रियाकलाप बढ्दै गए पनि नेपालमा भने विविध कारणले अर्थतन्त्र चलायमान हुन सकेको छैन। अर्थतन्त्र कमजोर छ,’ उनले भने।